डोल्पा जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर सेवा नहुँदा गम्भीर अवस्थाका बिरामीले समयमै उपचार पाउन सकेका छैनन्। अस्पतालमा विशेषज्ञ चिकित्सक र ब्लड बैंकको समेत अभाव छ, जसका कारण जटिल बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता छ।
काइके गाउँपालिकाका ६९ वर्षीय नरबहादुर बुढा अस्पतालको शय्यामा जीवनसँग संघर्ष गरिरहेका छन्। केही दिनअघि दिसामा रगत देखिएपछि उनको स्वास्थ्य बिग्रँदै गयो। शरीर सुन्निनुका साथै मिर्गौला र कलेजोमा समस्या देखिएको छ। चिकित्सकले उनलाई तत्काल आईसीयूमा राख्नुपर्ने बताएका छन्, तर अस्पतालमा त्यो सुविधा छैन। परिवारले उनलाई बिहान ४ बजे स्ट्रेचरमा बोकेर घरबाट हिँडाएको थियो र कठिन बाटो छिचोल्दै बिहान ११ बजे मात्र अस्पताल पुर्याएको थियो।
त्रिपुरासुन्दरी नगरपालिकाकी ५० वर्षीया हिराकाली दोचालको अवस्था पनि उस्तै छ। दुई महिनाअघिदेखि मुटुसम्बन्धी समस्या देखिएकी उनी बेहोस अवस्थामा अस्पताल ल्याइएकी थिइन्। चिकित्सकले उनलाई मुटुरोग विशेषज्ञको निगरानीमा विशिष्टीकृत परीक्षण आवश्यक रहेको बताएका छन्। तर आर्थिक अभावले उनलाई सुविधासम्पन्न अस्पताल लैजान परिवार असमर्थ छ।
आर्थिक वर्ष २०८२/८३ मा मात्रै अस्पतालले २०० भन्दा बढी बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरेको छ। अस्पतालको स्वीकृत क्षमता १५ शय्याको भए पनि बिरामीको चापका कारण ३० भन्दा बढी शय्याको व्यवस्थापन गरेर सेवा दिइँदै आएको छ। स्वीकृत ३२ दरबन्दीमध्ये ८ रिक्त छन् भने २४ जना मात्र कार्यरत छन्। दैनिक ६० देखि ७० जना बिरामी ओपीडीमा आउँछन् भने आकस्मिक कक्षमा दैनिक ८ देखि १० जना पुग्छन्।
जिल्लाका चार स्थानीय तह अझै सडक सञ्जालसँग जोडिएका छैनन्। कतिपय बस्तीबाट अस्पताल पुग्न दुई दिनभन्दा बढी पैदल हिँड्नुपर्छ, र आकस्मिक अवस्थामा हेलिकोप्टरमा लैजाँदा १२ देखि १४ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ। अस्पताल प्रमुख डा. राजकुमार भुजेलका अनुसार विशेषज्ञ चिकित्सकको दरबन्दी थपेर संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नु र संघ तथा प्रदेश सरकारले पूर्वाधार, उपकरण र जनशक्तिमा लगानी बढाउनु नै दीर्घकालीन समाधान हो।
