काठमाडौं — चाडपर्वको समयमा विद्युत् आपूर्ति नियमित राख्ने तयारीस्वरूप ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आइतबार साँझ स्यूचाटारस्थित भार प्रेषण केन्द्रमा रहेको केन्द्रीय कमाण्ड सेन्टरको निरीक्षण गरेका छन्।
लक्ष्मीपूजा, तिहार र छठका बेला विद्युत्को माग उल्लेख्य रूपमा बढ्ने भएकाले आपूर्ति व्यवस्थापनको तयारी कस्तो छ भनेर मन्त्री श्रेष्ठले त्यहाँ पुगेर जानकारी लिएका हुन्। निरीक्षणका क्रममा उनले चाडपर्वको अवधिमा विद्युत्को माग र आपूर्तिको अवस्था, प्रणाली सञ्चालनको तरिका तथा आपूर्ति निरन्तर र व्यवस्थित राख्न भइरहेका तयारीबारे विस्तृत रूपमा बुझेका थिए।
निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले चाडपर्वका समयमा विद्युत् आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन भइरहेका गतिविधिबारे जानकारी गराएका थिए। पर्वको समयमा बत्ती निभ्ने वा आपूर्तिमा अवरोध आउने समस्या नआओस् भन्ने उद्देश्यले केन्द्रले माग र आपूर्तिको निगरानी गरिरहेको बताइएको छ।
ऊर्जा मन्त्रालयले चाडपर्वको अवधिमा विद्युत् आपूर्ति सहज राख्न कमाण्ड सेन्टरमार्फत निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
