नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराएर जुवा खेलाएको आरोपमा पर्साको वीरगञ्जमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा नेपालीहरूलाई प्रवेश दिई जुवा खेल्ने–खेलाउने गतिविधि भइरहेको सूचनाका आधारमा कारबाही गरिएको हो। सोमबार साँझ करिब साढे सात बजे क्यासिनोमा पुगेको प्रहरी टोलीले नेपाली नागरिकहरू जुवा खेलिरहेको तथा खेलाइरहेको अवस्थामा फेला पारेको थियो।
नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा लगेर थप अनुसन्धान अगाडि बढाइएको छ।
पक्राउ पर्नेमा बाराका तीन र रौतहटका दुई जना छन्। बाराको पचरौता नगरपालिका–४ का ४८ वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका–८ का ४९ वर्षीय अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवास कुमार र परवानीपुर गाउँपालिका–५ का ३५ वर्षीय सुनिल पटेल छन्। त्यस्तै, रौतहटको बौधिमाई नगरपालिका–९ का ५० वर्षीय सुमेश्वरनाथ प्रसाद पनि पक्राउ परेका छन्।
नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराएर जुवा खेलाउन प्रतिबन्ध लगाइएको छ। यो नियम उल्लंघन गरेको आरोपमा प्रहरीले कारबाही चालेको हो। क्यासिनो सञ्चालक तथा सम्बद्ध अन्य व्यक्तिहरूविरुद्ध पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
