कास्कीको मादी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीलाई पालिकामा सूचीकृत हुन आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कात्तिक १८ गतेको निर्णयअनुसार कम्पनीहरूलाई आवश्यक कागजातसहित सूचीकृत हुन सूचना जारी गरिएको गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए।
मादी जलविद्युत् उत्पादनका हिसाबले महत्वपूर्ण क्षेत्र हो। पालिकाभित्र हाल करिब १० वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् भने थप आयोजनाले उत्पादन अनुमति लिएका छन् र केही प्रस्तावित अवस्थामा छन्। तर धेरै प्रवर्द्धक कम्पनी पालिकामा सूचीकृत नभएकाले यो पहल थालिएको अध्यक्ष गुरुङले बताए।
स्थानीय जलस्रोतबाट विद्युत् उत्पादन भइरहे पनि त्यसबाट बासिन्दाले पाउनुपर्ने लाभ, कम्पनीको सामाजिक उत्तरदायित्व र स्थानीय पूर्वाधार विकासमा गर्नुपर्ने योगदानबारे पटकपटक प्रश्न उठ्दै आएको छ। आयोजनाका कारण स्थानीय सडक, खानेपानी, खेतीयोग्य जमिन, वनजङ्गल र वातावरणमा परेको प्रभावको उचित सम्बोधन हुनुपर्ने माग पनि जनप्रतिनिधिले गर्दै आएका छन्।
मादी–४ का वडाध्यक्ष शिवप्रसाद सापकोटाले जलविद्युत् कम्पनीको सामाजिक उत्तरदायित्व, स्थानीयसँग भएका सम्झौता, वातावरणीय प्रभाव, रोजगारी र पूर्वाधार विकासमा पुर्याएको योगदानको पारदर्शी समीक्षा हुनुपर्नेमा जोड दिए। उनका अनुसार सूचीकरणको काम लगानीको वातावरण बिगार्न नभई लगानी र स्थानीय जनताको कानुनी अधिकारबिच न्यायोचित सन्तुलन कायम गर्नका लागि हो।
गाउँपालिकाले व्यवस्थित ऊर्जा विकासका लागि पालिका, जलविद्युत् कम्पनी र स्थानीय समुदायबिच समन्वय तथा सहकार्य आवश्यक रहेको जनाएको छ।
