म्याग्दीको धवलागिरि गाउँपालिकामा स्थानीय जातका गाईगोरु पाल्ने चलन क्रमशः हराउँदै गएको छ। आधुनिक कृषि उपकरणको प्रयोग बढ्नु, उन्नत जातका पशुपालनतर्फ किसानको आकर्षण बढ्नु र नयाँपुस्ता वैदेशिक रोजगारीमा जानुले परम्परागत गोठ र रैथाने जातका गाईगोरु सङ्कटमा परेका छन्।
धवलागिरि गाउँपालिका–३ मुनाका यामप्रसाद पुनले करिब तीन दशकसम्म गाई पालेर लेकबेँसी गर्नुभएको थियो। पाँच वर्षअघि उहाँले गाई पाल्न छाडेर भैँसी पाल्न थाल्नुभयो। थोरै दूध दिने दशवटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी पाल्दा सजिलो हुने उहाँको अनुभव छ। खनजोतमा मिनीटिलर हलो भित्रिएपछि गोरुको महत्त्व घटेको र गाई पाल्ने चलन नै हराउँदै गएको उहाँ बताउनुहुन्छ।
धवलागिरि गाउँपालिका–७ ताकमका मनबहादुर चपाइका अनुसार पूजाआजा र धार्मिक कार्यमा चाहिने गाईको दूध र गहुँत जुटाउन अहिले मुस्किल हुन थालेको छ। गाई देखिन छाडेको र गोरु भेटिन छाडेको उहाँको भनाइ छ। साबिक मराङ र ताकम क्षेत्रमा स्थानीय जातका गाईगोरु घट्दै गएका छन्। गुर्जा, लुलाङ, मुना, मुदी र मल्कवाङमा घुम्ती गोठको सङ्ख्या घटे पनि परम्परा पूर्ण रूपमा हटिसकेको छैन।
कुनै समय धवलागिरि हलगोरुको स्रोत केन्द्रका रूपमा चिनिन्थ्यो। त्यतिबेला बेनी नगरपालिका, पर्वत, स्याङ्जा र कास्कीसम्मका किसान हलगोरु खरिद गर्न यहाँ आउने गर्थे। अहिले भने गाईगोरुको माग र बिक्री दुवै घटेको गाउँपालिका–१ गुर्जाका तमप्रसाद छन्त्याल बताउनुहुन्छ।
गाउँपालिकाको तथ्याङ्कले पनि यो घट्दो क्रमलाई पुष्टि गर्छ। आठ वर्षको अवधिमा गाउँपालिकामा गाईगोरुको सङ्ख्या दुई हजार ३४५ ले घटेको छ। विसं २०७४ को सर्वेक्षणअनुसार त्यतिबेला छ हजार ७५६ गाईगोरु रहेका थिए। हाल चार हजार ४११ वटा मात्र रहेको पशु सेवा शाखाका प्रमुख चन्द्रकला दाहालले जानकारी दिनुभयो। नयाँपुस्ताको आकर्षण घट्दै जाँदा घुम्ती गोठसँगै स्थानीय जातका गाईगोरु पनि सङ्कटमा परेको उहाँको भनाइ छ।
कृषि तथा पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको अभिलेखअनुसार नेपालमा पाइने आठ प्रजातिका गाईमध्ये म्याग्दीलगायत पहाडी जिल्लामा पालिने गाईलाई पहाडी जातका रूपमा चिनिन्छ। यी गाई भुटान, सिक्किम र दार्जिलिङबाट नेपाल भित्रिएको उल्लेख छ। सामान्यतया २०० देखि ३०० किलोग्रामसम्म तौल हुने पहाडी गाईको रङ कालो, रातो, फुस्रो र टाटेपाटे हुन्छ।
संविधानको धारा ९ को उपधारा (३) मा गाईलाई राष्ट्रिय जनावरका रूपमा उल्लेख गरिएको छ। जन्मदेखि मृत्युसम्मका धार्मिक संस्कारमा गाईको दूध, दही, घ्यू, गोबर र गहुँतको प्रयोग हुने भएकाले स्थानीय जातका गाईको संरक्षण धार्मिक तथा सांस्कृतिक निरन्तरतासँग पनि जोडिएको छ।
गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार स्थानीय हावापानीमा अनुकूलित रैथाने गाईगोरुको संरक्षणका लागि प्रजनन व्यवस्थापन, किसानलाई प्रोत्साहन तथा स्थानीय जातको महत्वबारे जनचेतना अभिवृद्धि गर्न थालिएको छ।
