सुनसरी । यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल भएकाले स्थानीय फूलको उत्पादन बढेको छ । आपूर्ति पर्याप्त भएपछि बजारमा मूल्य घटेको छ । उपभोक्तालाई राहत भए पनि किसान र व्यापारी भने घाटामा परेका छन् ।
धरान कृषि उपज बजारमा विगत तीन वर्षदेखि फूलको व्यापार गर्दै आउनुभएका धरान–१५ का प्रदीपकुमार चौधरीले यस वर्ष मूल्य घट्दा घाटा बेहोर्नुपरेको बताउनुभयो । उहाँले किसानबाट प्रतिमुठा ८० रुपैयाँमा खरिद गरेको फूल अहिले बजारमा ५० रुपैयाँमा बिक्री गर्नुपरेको बताउनुभयो । गत वर्ष ठुलो एक बन्डल फूल ७०० रुपैयाँका दरले १० हजार बन्डलसम्म बिक्री भएको थियो भने यस वर्ष ५०० रुपैयाँमा मुस्किलले बिक्री भइरहेको उहाँले सुनाउनुभयो । उहाँले धनकुटाको थलथले क्षेत्रबाट किसानसँग फूल खरिद गरेर धरान–१३ स्थित कृषि उपज बजारमा ल्याई बिक्री गर्दै आउनुभएको छ ।
पहिलोपटक ऋण खोजेर फूलको व्यापार सुरु गर्नुभएका अर्का व्यापारी सिम यादवले पनि यस वर्ष मूल्य घटेका कारण पहिलोपटक नै व्यापारमा घाटा व्यहोर्नुपरेको बताउनुभयो । धनकुटाबाट राम्रो सयपत्री फूल खरिद गरेर बजारमा बिक्री गर्न ल्याएको उहाँले बताउनुभयो । प्रतिमुठा ७० देखि ८० रुपैयाँमा खरिद गरेको फूल अहिले ४० देखि ५० रुपैयाँमा बिक्री गर्नुपर्दा लगानीसमेत उठाउन कठिन भएको उहाँको भनाइ छ ।
धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले यस वर्ष फूलको उत्पादन बढेपछि बजारमा मूल्य घटेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष प्रतिमुठा १०० रुपैयाँमा बिक्री भएको फूल यस वर्ष ४० देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ । त्यसैगरी गत वर्ष फूलको प्रतिमाला २०० देखि २५० रुपैयाँसम्ममा बिक्री भएको फूलमाला यस वर्ष १०० रुपैयाँमा सहजै पाउन सकिने अवस्था रहेको उहाँले बताउनुभयो ।
धरानमा तिहारका अवसरमा हरेक वर्ष करिब पाँच लाख माला बराबरको फूलको कारोबार हुने गरेको व्यवस्थापक भट्टराईले बताउनुभयो । लक्ष्मीपूजा, कुकुरपूजा, घरको सजावट, ढोका तथा गेटमा लगाउन र पसल सजाउन फूलमालाको प्रयोग हुने गरेको छ । धरान कृषि उपज बजारमा धनकुटा, उत्तरी पहाडी क्षेत्र, तेह्रथुम, मोरङ र झापालगायत जिल्लाबाट किसानले सिधै फूल ल्याएर बिक्री गर्ने गरेका छन् । तिहारको अवसरमा धरान कृषि उपज बजारबाट हरेक वर्ष करिब पाँच करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार हुने गरेको उहाँले बताउनुभयो ।
सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले विदेशी फूलमा प्रतिबन्ध लगाइएका कारण स्वदेशी फूलको माग र आपूर्ति दुवै बढेको बताउनुभयो । स्थानीय उत्पादनले बजार पाउँदा स्वदेशी किसानलाई प्रोत्साहन मिल्नुका साथै तिहारको व्यापारिक गतिविधि बढेको उहाँको भनाइ छ ।
