१५ वर्षमुनिको फिफा विश्वकप तथा फेस्टिभल खेल्न नेपाली फुटबल टोली अजरबैजानको राजधानी बाकु प्रस्थान गरेको छ । बिहीबारदेखि सुरु हुने प्रतियोगिताका लागि बुधबार टोली बाकुतर्फ उडेको हो ।
फेस्टिभलको समूह चरणमा नेपालले ब्राजिल, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ । शनिबार पहिलो खेल ट्युनिसियासँग हुनेछ भने आइतबार गिनी–बिसाउ र एल साल्भाडोरविरुद्ध मैदान उत्रने तालिका छ । सोमबार भने ब्राजिल र डिआर कङ्गोसँग खेल्नेछ । उक्त फेस्टिभलमा कुल १९२ देशले सहभागिता जनाएका छन् ।
मुख्य प्रशिक्षक भीम लामाको नेतृत्वमा टोली सहभागी भएको छ । गोलकिपरमा रोमान ब्लोन र रोजेश ओझा, रक्षापंक्तिमा मदन तामाङ, प्रनिश राई, सुरज बराइली र सुजित लोप्चन तामाङ छन् । मध्यक्षेत्रमा अर्जुन मगर र सन्दिप श्रेष्ठ छन् भने अग्रपंक्तिमा सुनिल दमाइ, आर्यन नेगी तामाङ, मनिष परियार, समर्पण बिक, लेखिस हाङ गुरुङ र उत्कृष्ट चौहान छन् । सहायक प्रशिक्षकको जिम्मेवारी हेम गुरुङले र गोलकिपर प्रशिक्षकको जिम्मेवारी मुकुन्द थापाले सम्हालेका छन् ।
