डोल्पाको शे-फोक्सुण्डो ताल नजिकै रहेको रिग्मो गाउँका बासिन्दा सडक, स्वास्थ्य सेवा र शिक्षाको अभावमा दैनिक कष्ट भोगिरहेका छन्। तालको सुन्दरताले पर्यटक तानिरहे पनि गाउँलेको जीवन भने अझै कठिन छ।
गाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र छ, तर औषधि पाउन मुस्किल छ। ६२ वर्षीया पेम्बा डोल्मा गुरुङ औषधि नपाएर हैरान छिन्। जटिल बिरामी पर्दा हेलिकप्टर नै एकमात्र विकल्प हुन्छ, जसमा १० देखि १२ लाख रुपैयाँ खर्च लाग्ने वडाध्यक्ष निमा लामाले बताए। सदरमुकाम दुनैबाट दुई दिन हिँडेपछि मात्र रिग्मो पुगिन्छ।
गत चैतमा बिरामी परेका ६५ वर्षीय चुपुर लामा उपचारका लागि दुनैबाट जिपमा सुर्खेत र त्यहाँबाट जहाजमा काठमाडौं जानुपरेको थियो। गर्भवती महिलालाई पनि हेलिकप्टरबाटै अस्पताल लैजानुपर्ने अवस्था छ। पैसा हुनेले हेलिकप्टर चढ्छन्, नहुनेले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको वडाध्यक्ष लामाको भनाइ छ।
शिक्षाको अवस्था पनि उस्तै छ। सन् २०१८ मा स्थापना भएको गोविन्द आधारभूत विद्यालयमा अहिले बालकक्षाका सात जना विद्यार्थी मात्र छन्। माथिल्लो कक्षाका विद्यार्थी दुई घण्टा तलको विद्यालयमा होस्टेल बसेर पढ्छन्।
रिग्मोमा ६२ घरधुरीमा करिब चार सय जनसंख्या छ। कर्णाली प्रदेश सरकारले ४० करोड रुपैयाँको बस्ती विकास कार्यक्रम ल्याएको भए पनि गाउँभित्र काम भएको छैन। यार्सागुम्बा बेचेर खाद्यान्न किन्ने स्थानीयको आम्दानी यस वर्ष घटेको छ। पर्यटक बढेसँगै होमस्टे खुले पनि सडक, स्वास्थ्य र शिक्षाको समस्या जस्ताको तस्तै छ।
