नेपाल प्रिमियर लिग (एनपीएल) को २०औँ खेलमा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गर्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा पहिले ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो। जवाफमा चितवनले २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो।
१८१ रनको लक्ष्य पछ्याएको चितवनका लागि रवि बोपाराले सर्वाधिक ५५ रन बनाए। उनले ३५ बलमा दुई चौका र तीन छक्का प्रहार गरे। तर, बोपारा १९औँ ओभरको दोस्रो बलमा करण केसीको बलमा भीम सार्कीबाट क्याच भएपछि चितवनको जितको आशा टुट्यो।
चितवनका अन्य ब्याटरमा कामिल मिशाराले ११ बलमा २८, ड्यान माउज्लीले २९ र अर्जुन साउदले २३ रन बनाए। कप्तान सिकन्दर राजा भने दुई रनमै पभेलियन फर्किए। काठमाण्डुका तर्फबाट सहान अराच्चिगेले दुई विकेट लिए भने गणेश गौतम, सन्तोष यादव, करण केसी र जहानदाद खानले एक–एक विकेट हात पारे।
यो जितसँगै काठमाण्डु अंकतालिकाको शीर्षस्थानमा पुगेको छ।
