काठमाडौँ — हिन्दूहरूको महान् पर्व दीपावलीबारे नकारात्मक टिप्पणी गरेको भन्दै सांसद आशिका तामाङमाथि कारबाहीको माग गरिएको छ । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले सोमबार सामाजिक सञ्जालमार्फत तामाङमाथि नेपाली धर्म र संस्कृतिको अपमान गरेको आरोप लगाएका हुन् ।
साहले आफ्नो फेसबुक पोस्टमा तामाङलाई सांसदजस्तो गरिमामय पदमा रहेकी व्यक्ति भन्दै उनले दीपावलीको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई स्वीकार गर्नुको सट्टा व्यङ्ग्य गरेको दाबी गरेका छन् । तामाङले दीपावलीमा पड्काइने पटाकाले निद्रा बिग्रिएको र बत्ती बाल्दा बिजुलीको बिल धेरै उठेको भनी गरेको टिप्पणीको सन्दर्भमा साहले आपत्ति जनाएका हुन् ।
विदेशी नागरिकसँग विवाह गरेकी तामाङले खुलेआम हिन्दूहरूको आस्थामाथि प्रहार गरिरहेको आरोप साहको पोस्टमा लगाइएको छ । उनले यस्तो कार्य गर्नेलाई कानुन लाग्छ कि लाग्दैन भन्दै प्रश्नसमेत उठाएका छन् ।
साहले यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको ध्यानाकर्षण गराएका छन् । कानुन सबैका लागि बराबर हो भने सनातन धर्मको अपमान गर्नेमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ ।
