काठमाडौँ । २०६० सालको साउनमा द्वन्द्व उत्कर्षमा थियो । साउन ११ गते तत्कालीन शाही नेपाली सेनाका अधिकृत पवन घिमिरेको कमान्डमा रहेको टोली कालिकोट–जुम्ला सडक खण्डको निरीक्षण र सुरक्षा दिएर फर्कँदै थियो । फिर्ता हुने क्रममा विद्रोही पक्षले थापेको एम्बुस विस्फोट भयो, र त्यस विस्फोटले घिमिरेको दुवै आँखामा गम्भीर चोट पुर्यायो ।
तत्कालै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सैनिक अस्पताल र पछि भारतको हैदरावादस्थित एलपी प्रसाद आँखा अस्पतालसम्म पुर्याइयो । तर उनको दृष्टि फर्किन सकेन । जीवनको कठोर मोडमा उनलाई आत्महत्याको बाटोमा जानबाट आमाको मायाले रोक्यो ।
आमाको अवसान र आँखाको दृष्टि गुम्दा पनि घिमिरेले हिम्मत हारेनन् । आफ्ना लागि मात्र होइन, अरूका लागि पनि बाँच्नुपर्छ भन्ने सोच उनले बनाए । सन् २००६ तिर दुई जना पाकिस्तानी प्रशिक्षकले नेपालमा दृष्टिविहीन क्रिकेटको सातदिने तालिम दिए । त्यही तालिम घिमिरेका लागि नयाँ जीवनको प्रस्थानविन्दु बन्यो, र त्यही वर्ष उनको नेतृत्वमा क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड, नेपाल स्थापना भयो ।
नेत्रहिन क्रिकेट संघमार्फत एक हजारभन्दा बढी दृष्टिविहीन खेलाडी उत्पादन भइसकेका छन् । यसमा द्वन्द्वमा दृष्टि गुमाएका ५० भन्दा बढी र तीन सय ५० भन्दा बढी महिला खेलाडी समावेश छन् । घिमिरेकै पहलमा विश्वकै पहिलो महिला दृष्टिविहीन क्रिकेट टोली नेपालमा गठन भयो । उनकै नेतृत्वमा नेपाली महिला टिम विश्वकपको उपविजेता बन्यो भने पुरुष टोली सेमिफाइनलसम्म पुग्यो ।
उनको सेवा र समर्पणको कदर गर्दै राज्यले ‘गोरखा दक्षिण बाहु चौथो’ (२०६१), ‘नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय सम्मान’ (२०७१) र ‘प्रधान सेनापति प्रशंसा निशान’ (२०१७) प्रदान गर्यो । दृष्टि गुमाएपछि पनि क्रिकेटमार्फत समाजमा पुर्याएको योगदानकै कदर गर्दै नेपाली सेनाले उनलाई लेफ्टिनेन्ट कर्णेल पदमा पदोन्नति गर्यो ।
