काठमाडौँ । हात्तीलाई मनोरञ्जन र पर्यटनको साधनका रूपमा नभई संवेदनशील प्राणीका रूपमा मान्यता दिनुपर्ने सर्वोच्च अदालतको आदेशपछि पशुअधिकारवादी संस्था पेटाले चितवन हात्ती महोत्सवमा हुने खेलहरू बन्द गर्न माग गरेको छ ।
पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) ले महोत्सवका आयोजकलाई पत्र लेख्दै हात्ती प्रयोग गरेर गराइने खेल तत्काल रोक्न आग्रह गरेको छ । संस्थाले महोत्सवलाई सहयोग गर्दै आएका प्रायोजकहरूलाई समेत त्यसबाट अलग हुन अनुरोध गरेको छ । पेटाका अनुसार यसअघि सहयोग गर्दै आएका केही प्रायोजकले साथ छाडिसकेका छन् ।
महोत्सवका क्रममा माउतेहरूले लट्ठी र काठबाट बनेका धारिला हतियारले हात्तीमाथि प्रहार गरेको भिडियो सार्वजनिक भएको पेटाको भनाइ छ । संस्थाका अनुसार एक माउतेले एउटा हात्तीलाई ६४ पटकसम्म घोच्ने, लात्ती हान्ने र कुटपिट गरेका थिए । पर्यटकसँग तस्बिर खिचाउन प्रयोग गरिएका हात्तीलाई पनि फलामे टुप्पो भएको अङ्कुश र धारिला हतियारले घोच्ने गरिएको भिडियोमा देखिएको पेटाले जनाएको छ ।
पेटाका अध्यक्ष जेसन बेकरले सर्वोच्चको आदेशले हात्ती पर्यटनका सामग्री नभई संवेदनशील प्राणी भएको स्पष्ट पारेको बताए । उनले आदेशसँगै महोत्सवका पुराना र क्रूर खेल अन्त्य हुनुपर्ने बताएका छन् ।
पेटाले नेपाल पर्यटन बोर्ड र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पनि महोत्सवमा हात्तीको प्रयोग रोक्न आवश्यक कदम चाल्न आग्रह गरेको छ । संस्थाले नेपालमा बन्दी अवस्थामा राखिएका हात्तीमाथि हुने दुर्व्यवहारबारे लामो समयदेखि आवाज उठाउँदै आएको जनाएको छ ।
प्रकृतिमा हात्ती मातृप्रधान समूहमा बस्ने, एकअर्काको संरक्षण गर्ने र समूहका बच्चाको हेरचाहमा सामूहिक भूमिका निर्वाह गर्ने प्राणी भएको पेटाले उल्लेख गरेको छ । तर, बन्दी अवस्थामा राखिएका हात्तीमा गम्भीर मानसिक तनावका सङ्केत देखिने संस्थाको भनाइ छ ।
