बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–८ स्थित शीतलबजारमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन्।
मङ्गलबार भे १४ प ८६२४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक बाँकेको कोहलपुर नगरपालिका–९ का २० वर्षीय दिक्षित श्रेष्ठ र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रिदम थापा घाइते भएका थिए।
घाइते दुवैलाई तत्काल नेपालगञ्जस्थित सञ्जीवनी अस्पताल मेडिकल साइन्स कलेज पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि थापालाई भारतको लखनउ लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
चालक श्रेष्ठको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
