काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामु १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन जोड्यो ।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमलेनले सबैभन्दा धेरै ३३ रन बनाए । उनले २३ बल खेल्दै २ छक्का र २ चौका प्रहार गरे । थरिन्दु रत्ननायकेले २८ बलमा २ छक्का र १ चौकासहित २७ रनको योगदान दिए । तर मध्यक्रमका ब्याटरले लामो पारी खेल्न नसक्दा सुदूरपश्चिम ठूलो योगफलतर्फ बढ्न सकेन ।
जनकपुरका कप्तान हर्मित सिंह बलिङमा चम्किए । उनले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान १–१ विकेट हात पारे ।
लिग चरणमा दुवै टोलीले ५–५ खेल खेलिसकेका छन् । सुदूरपश्चिम ६ अंकसहित तेस्रो स्थानमा छ भने जनकपुर ४ अंकसहित पाँचौँ स्थानमा छ । प्लेअफको दौडमा रहन दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । अब जनकपुरले १२१ रनको लक्ष्य पछ्याउनेछ ।
