पोखरा — तिहारको रौनकसँगै पोखरामा बुधबार भाइटिका महोत्सवको १९औँ संस्करण आयोजना हुँदैछ। होटल सङ्घ पोखराले आयोजना गर्न लागेको यो महोत्सवमा करिब एक सय जना विदेशी पर्यटकले भाइटिकाको टीका लगाउनेछन्।
लेकसाइडको होटल पौवामा दिउँसोदेखि सुरु हुने महोत्सवको मुख्य उद्देश्य नेपाली संस्कृति र परम्परालाई पर्यटनसँग जोड्नु रहेको सङ्घले जनाएको छ। तिहारको सांस्कृतिक महत्वलाई विश्वभर चिनाउने र संस्कृतिमार्फत पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित महोत्सव निरन्तर आयोजना हुँदै आएको छ।
सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पछिल्ला वर्षहरूमा नेपाली चाडपर्वप्रति विदेशी पर्यटकको चासो उल्लेख्य रूपमा बढेको छ। कतिपय पर्यटक भाइटिका महोत्सवमा सहभागी हुन हरेक वर्ष पोखरा आउने गरेका छन् भने केहीले दोहोर्याएर टीका लगाउने गरेका छन्।
महोत्सवमा सहभागी पर्यटकलाई भाइटिकाको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वबारे जानकारी दिइनेछ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाउने परम्पराको प्रत्यक्ष अनुभव पर्यटकले पाउनेछन्।
त्यस अवसरमा पर्यटकलाई सेलरोटीलगायत नेपाली परम्परागत परिकार खुवाइनेछ भने मौलिक देउसी–भैलो प्रस्तुत गरिनेछ। विगतका वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सवले पोखराको पर्यटनलाई सांस्कृतिक पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको सङ्घको भनाइ छ।
