कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित तारापुरमा गए राति जङ्गली हात्तीको बथानले आक्रमण गर्दा एक महिलाको ज्यान गएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको तारापुर शिविरमा राति हात्तीको बथान पसेको थियो। बथानले ६० वर्षीया लक्ष्मी डगौराको कच्ची घर भत्काएर उनलाई कुल्चेको प्रहरीले जनाएको छ। घटनास्थलमै उनको मृत्यु भएको हो।
घटनाका बेला लक्ष्मी र उनका श्रीमान् मोहन डगौरा घरभित्र सुतिरहेका थिए। हात्तीले आक्रमण गर्न थालेपछि मोहन भागेर ज्यान जोगाउन सफल भएका छन्।
तारापुर शिविरका बासिन्दाका अनुसार हात्तीको बथान राति गाउँ पसेर घर भत्काउने र बाली नष्ट गर्ने क्रम बढ्दै गएको छ। यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व लामो समयदेखि चुनौती बनेको छ।
घटनापछि नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थलमा पुगेको छ। टोलीले घटनाको थप विवरण सङ्कलन गरिरहेको छ भने बथानलाई जङ्गलतर्फ धपाउने प्रयास भइरहेको छ।
