काठमाडौं — साउदी अरबमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषले एक नेपाली नागरिकले ज्यान गुमाएको घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बिहीबार जारी गरेको विज्ञप्तिमा निर्दोष नागरिकको जीवन लिने यस्ता हिंसात्मक गतिविधि मानवता र मानवीय मूल्यमान्यता विपरीत रहेको उल्लेख छ।साउदी अरबको ‘सेवा’ आयल फिल्ड क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर नेपाली नागरिकको मृत्यु भएको हो। कांग्रेसले नेपालसँग सम्बन्ध नै नरहेको बाह्य द्वन्द्वका कारण नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको अवस्था अत्यन्त दुःखद र चिन्ताजनक भएको बताएको छ र घटनाको घोर निन्दा तथा भर्त्सना गरेको छ।कांग्रेस सभापति गगनकुमार थापाले दिवंगत नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै अनाहकमा एकजना नेपालीको पनि जीवन गुम्नु अत्यन्तै पीडादायी भएको बताएका छन्। उनले साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारले थप गम्भीर पहलकदमी लिनुपर्ने माग गरेका छन्।सभापति थापाले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन र आवश्यकता परेको खण्डमा त्यहाँ रहेका नेपाली नागरिकको तत्काल उद्धारको उचित प्रबन्ध मिलाउनसमेत सरकारसँग आग्रह गरेका छन्। विज्ञप्तिमा शोकको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै पीडा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ।
ड्रोन भग्नावशेषमा नेपालीको मृत्यु : कांग्रेसले माग्यो थप सुरक्षा र उद्धार प्रबन्ध
