खेतीपातीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका स्याङ्जाका किसानहरूले विकल्पका रूपमा गड्यौले मल उत्पादन र प्रयोगलाई व्यवसायीकरण गरेका छन्। अन्य जैविक मलको तुलनामा गड्यौले मलमा बिरुवालाई चाहिने प्रमुख तथा सूक्ष्म पोषक तत्त्व बढी मात्रामा पाइने भएकाले यसतर्फ किसानको आकर्षण बढ्दै गएको हो।
विशेष प्रकारका गड्यौलाबाट उत्पादन हुने यो जैविक मल बनाउन गाईभैँसीको गोबर, घरबाट निस्कने कुहिने तरकारीका छिल्का, बोक्रा, पात र केराको थाम प्रयोग गरिन्छ। रासायनिक मलले बिग्रेको माटोलाई सुधार्दै माटोको जीवित शक्ति बचाउन पनि किसानले गड्यौले मलको प्रयोग बढाइरहेका छन्।
स्याङ्जाको वालिङमा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गड्यौले मलको व्यावसायिक उत्पादन थालेपछि यहाँका किसान व्यावसायिक रूपमा यसतर्फ लागेका हुन्। २०७७ सालमा स्थापना भएको सहकारीले २०७९ सालदेखि सेयर सदस्य तथा अगुवा कृषकलाई तालिम दिएर उत्पादन र आम्दानीका बारेमा सचेत गराएको सहकारीका अध्यक्ष यामबहादुर गुरुङले बताए।
सहकारीले सुरुमा २६० जना कृषकलाई गड्यौलापालनसम्बन्धी तालिम दिएको थियो र उनीहरूलाई गड्यौलाको बीउ तथा पालनका लागि आवश्यक पिट उपलब्ध गराएको थियो। सहकारीले आफैँले पनि जग्गा भाडामा लिएर व्यावसायिक उत्पादन गर्दै आएको छ। सहकारीका अनुसार सुरुमा मलका बारेमा किसानलाई बुझाउन कठिन थियो, तर अहिले मागअनुसार पुर्याउनै हम्मेहम्मे पर्छ।
सहकारीले वालिङ–८ को खेलमैदान नजिकै पाँच वर्षका लागि तीन रोपनी जग्गा भाडामा लिएर ठूला २७ र साना १८ गरी कुल ४५ वटा पिटमार्फत मल र बीउ उत्पादन गरिरहेको छ। सहकारीमार्फत मासिक छ हजार केजी र वार्षिक ६५ हजारदेखि ७५ हजार केजीसम्म मल उत्पादन हुन्छ। यहाँ उत्पादित मल सेयर सदस्यलाई प्रतिकेजी रु ३० र अन्य उपभोक्तालाई प्रतिकेजी रु ३५ का दरले बिक्री हुन्छ।
रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति बिग्रिँदै गएको भन्दै अध्यक्ष गुरुङले रासायनिक मलको प्रयोग घटाएर माटो र वातावरण बचाउने उद्देश्यले यो काम अगाडि बढाइएको बताए।
यो काममा वालिङ नगरपालिकाको कार्यालय, कृषि विकास कार्यालय स्याङ्जा, हेफर इन्टरनेसनल, आस्क नेपाल र आईडीई नेपाललगायतका सङ्घसंस्थाले आर्थिक, प्राविधिक तथा बजारीकरणमा सहयोग गर्दै आएका छन्। अहिले टाढाटाढाबाट विभिन्न सङ्घसंस्था तथा किसान समूह अवलोकनका लागि आउने गरेकाले यहाँलाई गड्यौले मल तथा बीउको अध्ययन पाठशालाका रूपमा विकसित गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताए।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ कुश्माचोकका हृदयश बर्माले वालिङको अवलोकनपछि प्रेरित भएर गड्यौलापालन थालेका छन्। झन्डै १२ कट्ठामा व्यावसायिक रूपमा काँक्रा खेती गर्दै आएका बर्माका अनुसार रासायनिक मलको प्रयोगमा उत्पादन खासै राम्रो भएन भने गड्यौले मलले उत्पादन दोब्बर भएको छ। उनी उत्पादन बढाएर बिक्रीसमेत गर्ने योजनामा छन्।
स्याङ्जाकै वालिङ–५ पित्लेकका ८/१० जना किसानले पनि तरकारी बालीमा प्रयोगका लागि गड्यौला मल उत्पादन गर्दै आएका छन् भने बाँकी रहेको मल सहकारीमार्फत प्रतिकेजी रु ३० का दरले बिक्री हुने गरेको छ। गड्यौलाको बीउ प्रतिकेजी रु एक हजार ७०० मा बिक्री हुन्छ। कम लगानी र मिहिनेतमै मल र बीउ दुवै बेचेर दोहोरो आम्दानी लिन सकिने भएकाले यो व्यवसायतर्फ किसानको आकर्षण बढेको हो।
उत्पादित मल ‘वालिङ गड्यौले मल’ को नामबाट पाँच, १०, २० र २५ केजीका बोरामा प्याकेजिङ गरी बजार पठाइन्छ। आलु, गहुँ, तोरी, खुर्सानी, धान, मकै तथा तरकारी बालीमा किसानले गड्यौले मल प्रयोग गर्दै आएका छन्। कृषि अर्थविज्ञ नारायणप्रसाद पाठकका अनुसार गड्यौले मलमा भएका खाद्य तत्त्व बिरुवाले छिटो ग्रहण गर्न सक्ने भएकाले यो बढी उपयोगी र प्रभावकारी छ।
