काठमाडौं। नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा मंगलबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १३३ रनको लक्ष्य राखेको छ। टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो।
कर्णालीको सुरुवात राम्रो हुन सकेन। पहिलो ओभरको अन्तिम बलमै ओपनर मार्क वाट एक रन बनाएर पभेलियन फर्किए। त्यसपछि डेब्यु खेल खेलेका जनकपुरका १६ वर्षीय राहुल यादवले आफ्नो पहिलो बलमै दीपक डुम्रेलाई १३ रनमा आउट गरे। ३७ रन जोड्दा कर्णालीले तेस्रो विकेट गुमायो, हुसेन तलत तीन रनमै आउट भए।
त्यसपछि पवन सर्राफ र अरिफुल इस्लामले पारी सम्हाल्ने प्रयास गरे। दुवैले चौथो विकेटका लागि ४२ रनको साझेदारी गरे। अरिफुलले २९ बलमा चार चौकासहित सर्वाधिक ४३ रन बनाए। पवन ३७ बलमा ३७ रन बनाएर आउट भए। त्यसपछि अक्बर अली एक, कप्तान सोमपाल कामी एक र गुल्सन झाले १२ रन बनाए। नन्दन यादव नौ रनमा आउट हुँदा युवराज खत्री र युनिश ठकुरी अविजित रहे।
बलिङमा जनकपुरका कप्तान हर्मीत सिंहले तीन विकेट लिए। मोइन अली र राहुल यादवले दुईदुई विकेट लिए भने ललित राजवंशीले एक विकेट हात पारे। जनकपुरका बलरले कर्णालीलाई सुरुदेखि नै दबाबमा राखे, जसका कारण कर्णालीले ठूलो स्कोर बनाउन सकेन।
