सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले पहिलो पटक दुबईमा घिउ पठाएर सुरु गरेको निर्यात अब नियमित प्रक्रियामा परिणत भएको छ। परीक्षण निर्यात सफल भएपछि त्यहाँको बजारमा माग बढेको संस्थानले जनाएको छ।
संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार पहिलो पटक ६०० केजी घिउ पठाइएको थियो। उपभोक्ताबाट राम्रो प्रतिक्रिया आएपछि अहिलेसम्म तीनवटा खेपमा करिब तीन टन घिउ दुबई पुगिसकेको छ। अहिले मागअनुसार नियमित आपूर्ति भइरहेको छ र तिहारअघि थप डेढ टन पठाउने अन्तिम तयारी भइरहेको छ।
पहिलो निर्यात भदौको पहिलो सातामा भएको थियो। त्यसपछि संस्थानले घिउसँगै रसबरी, लालमोहन, पेडा, छुर्पी र चिज पनि परीक्षणका लागि पठाएको छ। ती उत्पादन करिब तीन सयदेखि चार सय बट्टाको परिमाणमा दुबईको बजारमा पुगेका छन्।
परीक्षण चरणमा थोरै परिमाण भएकाले ती सामान हवाई मार्गबाट पठाइएको छ। हवाई ढुवानी महँगो भए पनि बजार परीक्षणका लागि यो तरिका अपनाइएको संस्थानको भनाइ छ। नयाँ उत्पादनको माग र बजार स्थापित भएपछि ठूलो परिमाणमा कन्टेनरमार्फत कम लागतमा निर्यात गर्ने दीर्घकालीन योजना रहेको महाप्रबन्धक पाण्डेले बताए।
