नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र दुर्गेश थापाबीच गीतको पारिश्रमिकलाई लिएर विवाद सार्वजनिक रूपमा चुलिएको छ। चर्चित गीत ‘दुस्मन हेरेको हेर्यै’ मा स्वर दिएका कार्कीले पारिश्रमिक पाउन करिब एक वर्ष कुर्नुपरेको बताएपछि यो विषय आरोप–प्रत्यारोपसम्म पुगेको हो।
एक टेलिभिजन अन्तर्वार्तामा कार्कीले दुर्गेशको गीतमा स्वर दिएको र एउटा चलचित्रका लागि समेत गीत गाएको तर भुक्तानीमा समस्या भएको गुनासो गरेका थिए। त्यसको जवाफमा दुर्गेशले विज्ञप्ति जारी गर्दै ‘दुस्मन हेरेको हेर्यै’ को पारिश्रमिक दिइसकेको र चलचित्रको गीतको भुक्तानीमा आफू जिम्मेवार नरहेको बताएका थिए।
दुर्गेशको जवाफपछि कार्कीले फेरि विज्ञप्ति जारी गर्दै आफ्नो असन्तुष्टि रकममा मात्र सीमित नभएको स्पष्ट पारेका छन्। पारिश्रमिक कलाकारको श्रमको न्यायोचित मूल्य भएको उल्लेख गर्दै उनले त्यसका लागि लामो समय कुर्नुपर्ने अवस्था सामान्य व्यावसायिक अभ्यास हुन नसक्ने बताएका छन्।
कार्कीका अनुसार उनले दुर्गेशलाई आफ्नै भाइजस्तो ठानेर सुरुमा धैर्य गरेका थिए। तर पटक–पटक फोन, एसएमएस र मेसेन्जरमार्फत सम्पर्क गर्दा पनि समस्या समयमै समाधान हुन सकेन। अन्ततः पारिश्रमिक पाए पनि त्यसका लागि करिब एक वर्ष प्रतीक्षा गर्नुपरेको उनको भनाइ छ।
विवाद समाधानका लागि चलचित्र निर्देशक तथा निर्माता शोभित बस्नेतले पनि पहल गरेका छन्। कार्कीका अनुसार बस्नेतले चलचित्रका लागि दुर्गेशलाई डेढ लाख रुपैयाँको प्याकेज दिइएको र आफूले पारिश्रमिक नपाएको विषय भर्खरै थाहा पाएको बताएका थिए। बस्नेतले भुक्तानीका लागि क्यूआर कोड मागेपछि आफूले पठाइसकेको कार्कीले बताएका छन्। कार्कीले दुर्गेशलाई ‘बाबु’ सम्बोधन गर्दै आफ्नो माया र आशीर्वाद यथावत् रहेको उल्लेख गरेका छन्। सफलतासँगै अरूको श्रमको सम्मान र व्यावसायिक जिम्मेवारी पनि बढ्नुपर्ने उनको सन्देश छ।
