आगामी १५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने हरेक सवारीसाधनले सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार फरक-फरक शुल्क तोकिएको जानकारी दिएको हो।
सूचनाअनुसार पहिलो वर्गमा पर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ बुझाउनुपर्नेछ।
दोस्रो वर्गका मिनी बस र मिनी टिपर तथा ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ।
तेस्रो वर्गमा रहेका बस र ट्रकले काठमाडौं छिर्दा २६० रुपैयाँ र निस्किँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। चौथो वर्गका मल्टी एक्सल ट्रक, अन्य ठूला सवारीसाधन र भारी उपकरणका लागि प्रवेशमा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क लाग्नेछ।
शुल्कको यो व्यवस्था सडक बोर्ड नेपालको कार्यकारी समितिले १२ असोजमा गरेको निर्णय र २६ चैत २०८२ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा गरिएको आयोजनाले जनाएको छ।
यससँगै सुरुङ मार्ग हुँदै राजधानी आउजाउ गर्ने यात्रु र व्यवसायीले अब दिशाअनुसार फरक दरमा शुल्क तिर्नुपर्ने भएको छ। हलुका सवारीका लागि सबैभन्दा कम र भारी सवारीका लागि सबैभन्दा बढी दर कायम गरिएको छ।
