मोरङको कटहरी गाउँपालिकामा राजवंशी र थारू समुदायको मौलिक संस्कृतिसँग जोडिएको महालक्ष्मी मेला ५० वर्षदेखि निरन्तर हुँदै आएको छ। पुस्तौँदेखि चल्दै आएको यो मेलाले दुई समुदायको पहिचान र परम्परालाई जीवित राख्न सहयोग गरिरहेको छ।
मेलाको दिन बगिया र माछा खानैपर्ने चलन छ। त्यस दिन आफन्त, ज्वाइँ र छोरीलाई निम्तो दिएर रमाइलोसाथ मनाउने गरिन्छ। यही कारण यसलाई गोठाले पर्व पनि भनिन्छ। यङ हार्ट ग्रुपको आयोजनामा हुँदै आएको मेलाले राजवंशी र थारू समुदायको पुर्ख्यौली संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
कार्यक्रमका अध्यक्ष मुन्ना राजवंशीले पुर्ख्यौली संस्कृति र परम्परा जोगाउने उद्देश्यले मेला आयोजना गर्दै आएको बताए। उनका अनुसार यस्ता सांस्कृतिक कार्यक्रमले समुदायको पहिचान जोगाउनुका साथै नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्पराबारे जानकारी दिन सहयोग पुग्छ। मेलामार्फत पुस्तौँदेखिका मौलिक परम्परा र सांस्कृतिक अभ्यासलाई निरन्तरता दिने प्रयास गरिएको छ। स्थानीयका लागि यो मेला भेटघाट, रमाइलो र सांस्कृतिक आदानप्रदानको अवसर समेत बनेको छ।
मेलामा सहभागीहरूले परम्परागत खानाका साथै सांस्कृतिक प्रस्तुति र सामूहिक भेटघाटको आनन्द लिने गरेका छन्। आयोजकका अनुसार मेलाले समुदायबीचको सम्बन्ध अझ बलियो बनाएको छ।
