काठमाडौं । अमेरिकन डलर देखाएर सस्तो दरमा साटिदिने प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ धार्पा घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका–१ सरस्वती खेल बस्ने २९ वर्षीय मोहन बहादुर तामाङ रहेका छन् । उनलाई ‘सुमन’ नामले पनि चिनिने प्रहरीले जनाएको छ ।
पीडितलाई गोकर्णेश्वर नगरपालिका–४ स्थित एकान्त ठाउँमा बोलाएर डलर देखाई सस्तो दरमा साटिदिने भन्दै प्रलोभनमा पारेको आरोपमा उनलाई बुधबार पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई सरस्वती खेलबाटै नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार २०८२ चैत २३ गते पीडितबाट पाँच लाख रुपैयाँ ठगी गरी उनी फरार भएका थिए । सो घटनाको अनुसन्धानका क्रममा उनी पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानमा मोहन र उनका साथीहरू मिलेर काठमाडौं उपत्यका तथा उपत्यका बाहिर समेत पुगेर मानिसलाई सस्तो दरमा डलर साटिदिने प्रलोभन देखाई एकान्त ठाउँमा बोलाउने र लुटपाट तथा ठगी गर्ने गरेको खुल्न आएको छ ।
पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
