पोखरा । ओमनमा आयोजना हुने एसीसी यु–१९ क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई पोखरामा औपचारिक बिदाइ गरिएको छ । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भएको आठ दिने बन्द प्रशिक्षण सकिएसँगै टोलीलाई सोमबार बिदाइ गरिएको हो ।
प्रतियोगिताका लागि बिपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । टोलीको उपकप्तानको जिम्मेवारी नीरजकुमार यादवले सम्हाल्नेछन् । मुख्य प्रशिक्षकमा वसन्त शाही र सहायक प्रशिक्षकमा धीरेन्द्र चन्द रहेका छन् ।
टोलीमा प्रसिद्ध जैसी, सोहेल कुँवर, दर्श सोनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यांशु कोइराला, अभय यादव, सुशीलबहादुर रावल, नितेशकुमार पटेल, सुभम खनाल र सचिन भट्ट छन् ।
ओमनमा आगामी नोभेम्बर ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा नेपालले कडा प्रतिद्वन्द्वीहरूको सामना गर्नेछ । नेपालले पहिलो खेल नोभेम्बर ६ तारिखमा भारतविरुद्ध खेल्नेछ । दोस्रो खेल नोभेम्बर ८ मा युएईविरुद्ध खेल्ने नेपालले तेस्रो खेल नोभेम्बर १० मा पाकिस्तानविरुद्ध मैदानमा उत्रिनेछ ।
छोटो समयमा तयारी राम्रो भएको प्रशिक्षक वसन्त शाहीले जानकारी दिए । खेलाडीको फिटनेस, आपसी तालमेल र रणनीति तय गर्न पोखराको क्याम्प महत्त्वपूर्ण भएको उनको भनाइ छ । यसअघि पोखरा महानगरपालिकाले पनि नेपाली टिमलाई बिदाइ गरेको थियो ।
