काठमाडौं । नेपाल र पाकिस्तानबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत आर्थिक उपलब्धिमा बदल्नुपर्नेमा जोड दिइएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबीच मंगलबार चेम्बर भवनमा भएको शिष्टाचार भेटमा दुई देशबीचको व्यापार तथा लगानी बढाउने विषयमा विस्तृत छलफल भएको हो।
भेटमा अध्यक्ष अग्रवालले दुई देशबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएको र सन् १९८२ मा द्विपक्षीय व्यापार सम्झौता तथा सन् १९८३ मा संयुक्त आर्थिक आयोग बने पनि अपेक्षाअनुसार व्यापार विस्तार हुन नसकेको बताए। उनले औपचारिक सम्झौतामा मात्र सीमित नभई दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सम्पर्क, बजार पहुँच, संयुक्त लगानी र साझेदारी बढाउनुपर्नेमा जोड दिए।
अग्रवालले नेपाली चिया, ठूलो अलैँची, अदुवा, जडीबुटी, आवश्यक तेल तथा प्रशोधित कृषि उत्पादन पाकिस्तान निर्यात गर्न सकिने सम्भावना औँल्याए। गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ, प्रमाणीकरण र नियमित आपूर्ति सुनिश्चित गर्न सके पाकिस्तानी बजारमा राम्रो अवसर रहेको उनको भनाइ थियो। पाकिस्तानको औषधि उत्पादन र कपडा उद्योगको अनुभवबाट नेपालले लाभ लिन सक्ने उनले बताए।
सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, डिजिटल सेवा, स्टार्टअप, पर्यटन र सांस्कृतिक आदानप्रदानलाई सहकार्यका महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गर्दै उनले सूचना प्रविधि र पर्यटनमा भौगोलिक दूरीले ठूलो अवरोध नगर्ने बताए।
राजदूत खानले नेपालसँगको आर्थिक सम्बन्ध पुनः जोड्नु आफ्नो कार्यकालको प्रमुख प्राथमिकता रहेको बताए। उनले नेपालमा हालै आएको बाढी तथा पहिरोबाट रसुवा र आसपासका क्षेत्रमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पाकिस्तान सरकार र जनताको तर्फबाट ऐक्यबद्धता जनाए। भेटमा चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपककुमार मल्होत्रा पनि सहभागी थिए।
