अन्तर्राष्ट्रिय बजारमा माग घटेपछि सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा रहेका छाला उद्योगहरूको उत्पादन आधामा झरेको छ। कच्चा छालाको उपलब्धता पनि कम भएकाले उद्योगहरू घाटामा चलिरहेको उद्योगीहरूले बताएका छन्। मागमा आएको गिरावटसँगै रसायन र मजदुरको ज्याला बढेकाले उत्पादन लागत धान्न झन् कठिन भएको उनीहरूको भनाइ छ।
नेपाल लेदर टेनर्स एसोसिएसनका उपाध्यक्ष हसन अन्सारीका अनुसार पछिल्ला वर्षहरूमा पूर्वी क्षेत्रमा महिनामा एक लाख ५० हजार थानसम्म बाख्राको छाला सङ्कलन हुने गरेकोमा अहिले त्यो संख्या ५० हजार थानमा झरेको छ। भैँसीको छाला सङ्कलन पनि महिनाको ४० हजार थानबाट घटेर २० हजार थानमा पुगेको छ। भैँसीको छालाको मूल्य एक हजार रुपैयाँबाट घटेर पाँच सय रुपैयाँमा आएको छ भने खसीबाख्राको छालाको मूल्य ६० रुपैयाँबाट बढेर एक सय ५० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भएपछि करिब ४० करोड रुपैयाँ बराबरको छाला ह्वाइट ब्लु अवस्थामा प्रशोधन गरेर गोदाममा थन्क्याइएको उद्योगीहरूले बताएका छन्। पूर्वमा सञ्चालनमा रहेका चार वटा छाला उद्योगमध्ये एउटा उद्योग बन्द भइसकेको छ। उद्योगीहरूका अनुसार बजारमा माग घटिरहेका बेला लागत बढ्नु नै अहिलेको मुख्य चुनौती बनेको छ, र यही अवस्थाले उद्योगहरूको सञ्चालनमा थप दबाब सिर्जना गरिरहेको छ।
