अमेरिकाको फ्लोरिडास्थित एउटा आवासीय क्षेत्रमा आइतबार व्यावसायिक जेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको ज्यान गएको छ। अमेरिकी यातायात मन्त्रीले विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि गरेका छन्।
दुर्घटना फ्लोरिडाको पाम बीच काउन्टीस्थित क्रेस्टहेभन नजिकै भएको हो। उक्त स्थान पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको रिसोर्ट मार्-आ-लागोबाट करिब १४ किलोमिटर टाढा छ। स्थानीय समयअनुसार दिउँसो १२ बजेर ५० मिनेट जाँदा लियरजेट ६० मोडलको विमान खसेको थियो।
सङ्घीय उड्डयन प्रशासनले विमान टेक्ससको अस्टिनबाट बाहामासतर्फ उडिरहेको जनाएको छ। उडानसम्बन्धी तथ्याङ्क र अमेरिकी सञ्चारमाध्यमका अनुसार दुर्घटनाअघि विमान प्रतिसेकेन्ड सयौँ फिटको गतिमा तल खसिरहेको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा दृश्यमा गाडीको ड्यासबोर्ड क्यामेराले दुर्घटनाको क्षण कैद गरेको देखिन्छ। आवासीय सडकमा गुडिरहेको गाडीका अगाडि विमान ठाडो रूपमा जमिनमा बजारिन्छ र ठूलो आगोको गोलामा परिणत हुन्छ। दुर्घटनापछि सार्वजनिक तस्बिरमा सडकमा ठूलो खाल्डो परेको र विमानका टुक्रा, फुटेका कङ्क्रिट तथा आगोका झिल्का चारैतिर छरिएको देखिन्छ।
पाम बीच काउन्टी प्रहरी कार्यालयका अनुसार विमान व्यापारिक प्रतिष्ठान र रेस्टुरेन्टहरू रहेको छ लेनको मिलिटरी ट्रेल सडकमा खसेको हो। गभर्नर डिसेन्टिस र स्थानीय अधिकारीहरूले दुर्घटनास्थल नजिकै रहेको ट्रेलर-पार्क बस्तीका करिब छ सय जना स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
