काठमाडौँ। मध्यावधि चुनावको मुखमा रहेको अमेरिकामा चुनावी सर्वेक्षणकै विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। आफ्ना धेरैजसो सर्वेक्षणका नतिजा आफैंले बनाएको एक संस्थाले स्वीकार गरेपछि ठूला सञ्चारमाध्यमले समेत ती तथ्याङ्क प्रयोग गरेको खुलासा भएको हो।
‘वेजवुड पोल्स’ नामको संस्थाले पूर्णरूपमा काल्पनिक सर्वेक्षण संस्था पनि कति सजिलै सार्वजनिक बहसमा छिर्न र जनतालाई आफ्नो नतिजा पत्याउन सक्छ भन्ने परीक्षणका लागि यस्तो गरेको दाबी गरेको थियो। अहिले उसको एक्स खाता बन्द भइसकेको छ।
सर्वेक्षणसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने ‘फिफ्टीप्लसवन’ को अनुसन्धानबाट यो काण्ड बाहिर आएको हो। ‘न्युयोर्क टाइम्स’ ले वेजवुडका जुनदेखि अक्टोबरसम्मका १५ वटा सर्वेक्षण आफ्नो डाटाबेसमा राखेको थियो, ती अहिले हटाइएका छन्।
यसको प्रत्यक्ष असर अभियानमै परेको छ। मिसिगनकी सिनेट उम्मेदवार म्यालोरी म्याकमोरोले जुनको अन्त्यतिरको सर्वेक्षणमा आफ्नो समर्थन एकल अङ्कमा देखाइएपछि चन्दा रोकिएको, स्वयंसेवक निराश बनेको र मिडियाले चुनावबाट बाहिरिन दबाब दिएको बताएकी छन्। उनले एक्समा उक्त सर्वेक्षणले अभियान नै तहसनहस पारेको लेखेकी छन्।
यता राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ट्रुथ सोसलमार्फत नक्कली तथ्याङ्क प्रयोग गरेको भन्दै न्युयोर्क टाइम्सको आलोचना गरे। सङ्घीय सञ्चार आयोगका अध्यक्ष ब्रेन्डन कारले चुनावलाई प्रभावित पार्ने उद्देश्यका नक्कली सर्वेक्षण बढिरहेको भन्दै मिडियालाई यस्ता गतिविधिलाई प्रश्रय नदिन आग्रह गरे।
गत अगस्टमा ‘मेडियन स्ट्र्याटेजीज’ ले पनि नतिजा बनावटी भएको स्वीकार गरेको थियो भने फिफ्टीप्लसवनले ‘सोकेल स्ट्र्याटेजीज’ सँगको तथ्याङ्क सहकार्य अन्त्य गरेको छ। विशेषज्ञहरूका अनुसार एआई प्रविधिले नक्कली सर्वेक्षण तयार पार्न र तिनलाई वास्तविकजस्तै देखाउन सजिलो बनाएको छ। अमेरिकन एसोसिएसन फर पब्लिक ओपिनियन रिसर्चकी अध्यक्ष मेरी लोशले यस्ता ठगीले जनमत सर्वेक्षणप्रतिको भरोसा कमजोर पार्ने चेतावनी दिँदै नक्कली सर्वेक्षणलाई वैध सर्वेक्षणसँग एउटै रूपमा हेर्न नहुनेमा जोड दिइन्।
