चक्रवात अर्नबको सम्भावित प्रभावका कारण आगामी केही दिनमा देशका प्रमुख राजमार्गहरूमा पहिरोको उच्च जोखिम बढेको छ। जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सूचना जारी गर्दै विशेष गरी नारायणी, बागमती र कोशी नदी जलाधार तथा आसपासका क्षेत्रमा वर्षा भएर राजमार्ग क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने चेतावनी दिएको हो।
केन्द्रका अनुसार चक्रवातको प्रभावले पहाडी तथा भिरालो भूभाग भएका सडकखण्डमा पहिरो जाने, ढुंगा खस्ने र सडक भासिने सम्भावना छ। नदी किनारका सडकखण्डमा पानीको सतह बढेर बाढी तथा कटानको जोखिम हुनेछ। पहिरो र बाढीका कारण सडक अवरुद्ध हुँदा यातायात सञ्चालन र अत्यावश्यक वस्तुको ढुवानीमा समेत असर पर्न सक्ने केन्द्रले जनाएको छ।
सानाठूला खहरे खोला र कल्भर्टमा पानीको बहाव बढेर सडक क्षति हुन सक्ने सम्भावना पनि औंल्याइएको छ। जोखिममा पर्न सक्ने प्रमुख राजमार्ग खण्डमा त्रिशूली र नारायणी नदी किनारको नारायणगढ-मुग्लिन सडक खण्ड, कोशी राजमार्ग र सिद्धार्थ राजमार्गका संवेदनशील पहिरो क्षेत्र रहेका छन्।
यसैगरी कान्ति राजमार्ग, अरनिको राजमार्ग र बागमती जलाधार क्षेत्रसँग जोडिएका सडकखण्डमा पनि उच्च सतर्कता अपनाउनुपर्ने उल्लेख छ। पहिरोको इतिहास भएका र नदी किनारका अन्य राजमार्ग खण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ।
