पोखरा । कास्कीमा गत असोज महिनामा ५९ सवारी दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने १०१ जना घाइते भएका छन् । यो सङ्ख्या अघिल्ला महिनाका तुलनामा बढी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार असोजका दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए । संलग्न सवारीका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान तथा कारबाही अघि बढाइएको छ ।
दुर्घटनाको विश्लेषण गर्दा तीव्र गति सबैभन्दा ठूलो कारण देखिएको छ । तीव्र गतिमा सवारी चलाउँदा मात्रै २० वटा दुर्घटना भएका छन् । यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण १०, सवारीचालक अनुमतिपत्र नभएका चालकका कारण पाँच, यान्त्रिक समस्याका कारण एउटा र अन्य कारणले २३ वटा दुर्घटना भएका छन् ।
गत असोज २३ गते कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित छ जनाले ज्यान गुमाएका थिए भने १५ जना घाइते भएका थिए । विद्यालय बस दुर्घटनामा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार असोजमा अन्य महिनाको तुलनामा धेरै दुर्घटना भए र चालकको लापरवाही तथा तीव्र गति मुख्य कारण बने ।
प्रहरीले असोजमा सवारी नियम उल्लङ्घन गर्नेविरुद्ध चार हजार ७८५ वटा कारबाही गरेको छ, जसबाट ३९ लाख ९८ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यसबाहेक असोजमा कास्कीमा सुक्खा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ भने आगलागीका पाँच, अविरल वर्षाका २८ र चट्याङका दुई घटना भएका छन् । अविरल वर्षाले चार घरमा आंशिक क्षति पुर्याएको छ भने चट्याङले तीन चौपायाको ज्यान गएको छ ।
