अबुधाबी । समुद्र किनारको पारिस्थितिक प्रणालीलाई बलियो बनाउन संयुक्त अरब इमिरेट्सले नयाँ प्रविधिको सहारा लिएको छ। त्यहाँ म्यान्ग्रोभ वन फर्काउन ड्रोनबाट लाखौँ बीउ छर्ने काम भइरहेको छ।
म्यान्ग्रोभ नुनिलो पानी र हिलोमा हुर्कन सक्ने विशेष वनस्पति हो। यसले तटीय बस्तीलाई आँधी र ठूला छालबाट जोगाउँछ, माटोको क्षय रोक्छ र जलचरका लागि पोषणको स्रोत बन्छ। विश्वभर ५० भन्दा बढी प्रजातिका म्यान्ग्रोभ पाइन्छन् र कम्तीमा ३४० संकटापन्न वन्यजन्तु प्रजाति यिनै वनमा आश्रित छन्। साधारण वनको तुलनामा म्यान्ग्रोभले चार गुणा बढी कार्बनडाइअक्साइड सञ्चित गर्न सक्छ। म्यान्ग्रोभ एलायन्सका अनुसार विश्वका म्यान्ग्रोभ वनमा करिब २१ अर्ब टन कार्बनडाइअक्साइड भण्डारण छ।
अबुधाबीको वातावरण निकायकी समुद्री वैज्ञानिक डा. अम्ना अल्मन्सुरीका अनुसार म्यान्ग्रोभको संरक्षण सन् १९६० को दशकको अन्त्यदेखि नै प्राथमिकतामा परेको थियो। सन् १९८७ देखि २०२२ सम्म त्यहाँको म्यान्ग्रोभ क्षेत्र ९२ प्रतिशतले बढेर करिब तीन हजार हेक्टरबाट १७ हजार ६०० हेक्टर पुगेको छ।
सन् २०३० सम्म देशभर १० करोड म्यान्ग्रोभका बिरुवा रोप्ने राष्ट्रिय लक्ष्य छ। त्यसैअन्तर्गत सन् २०२३ मा मात्र ड्रोनबाट ६० लाखभन्दा बढी बीउ छरिएका थिए। एउटा ड्रोनले करिब छ हजार बीउ बोक्न सक्छ। हातले रोप्दा संवेदनशील क्षेत्रमा धेरै मानिस पुग्नुपर्ने हुन्छ, तर ड्रोनले त्यो जोखिम कम गर्छ।
तर म्यान्ग्रोभ आफैँ जलवायु परिवर्तनको जोखिममा छ। समुद्री सतह बढ्दै गएमा वन डुबेर नष्ट हुन सक्छ। म्यान्मार, इन्डोनेसिया र नाइजेरियामा अझै म्यान्ग्रोभ क्षेत्र घटिरहेको छ। त्यसैले अबुधाबी म्यान्ग्रोभ इनिसिएटिभले नयाँ वन विस्तारसँगै पुराना वनको संरक्षण र जलप्रवाह सुधारमा पनि काम गरिरहेको छ।
