आबु धाबी । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अर्को साता संयुक्त अरब इमिरेट्सको राजधानी आबु धाबीमा अमेरिका, रुस र युक्रेनबिच त्रिपक्षीय शान्ति वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले नोभेम्बर १० र ११ मा हुने बैठकको जानकारी दिएका छन् ।
ट्रम्पका विशेष दूत स्टेभ भिटकफ र वरिष्ठ सल्लाहकार जारेड कुसनरले आबु धाबी वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । उनीहरूले हालै युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छुट्टाछुट्टै उच्चस्तरीय छलफल गरेका थिए ।
भिटकफका अनुसार वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था, तनाव कम गर्ने उपाय, मानवीय सहायता र शान्तिका लागि आगामी कदमहरूमा ध्यान केन्द्रित गरिनेछ । आबु धाबी बैठकअघि अमेरिकी तल्लो तहका अधिकारीहरूले यसै साता ब्रसेल्समा फ्रान्स, जर्मनी, बेलायत, युरोपेली संघ र नाटोका प्रतिनिधिहरूसँग छलफल गर्दैछन्, जहाँ युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे खाका तयार पारिनेछ ।
यसैबिच, ट्रम्पले रुसी डिजेल बिक्रीमा लगाइएको प्रतिबन्ध हटाएपछि ह्वाइट हाउसले पुटिन शान्ति सम्झौताका लागि बढी लचिलो हुने अपेक्षा राखेको छ । तर विश्लेषकहरूले युक्रेनी भू–भाग र कब्जा गरिएका क्षेत्रबारे दुवै पक्षबिच ठूलो मतभिन्नता कायमै रहेकाले वार्तामा ठूलो प्रगति हुनेमा आशङ्का व्यक्त गरेका छन् ।
उता, राष्ट्रपति जेलेन्स्कीले रुसी गुप्तचर निकायको प्रतिवेदन उद्धृत गर्दै रुसले मंगलबार युक्रेनका ऊर्जा तथा लजिस्टिक पूर्वाधारमा अर्को विशाल हवाई हमला गर्ने तयारी गरिरहेको चेतावनी दिएका छन् । अमेरिकामा मध्यावधि निर्वाचन भइरहेको बेला विश्वको ध्यान त्यसतर्फ केन्द्रित भएको मौका पारेर आक्रमण गर्न खोजिएको उनको भनाइ छ ।
