काठमाडौं — पूर्वाधार विकास समितिले राष्ट्रिय राजमार्गका विभिन्न आयोजनामा देखिएका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएको छ । सडक निर्माणमा अवरोध बनिरहेका विद्युत् पोल र रुख व्यवस्थापनका विषयमा समितिले समयसीमा तोकेरै काम गर्न भनेको हो ।
समितिका सभापति आशिष गजुरेलले आह्वान गरेको मंगलबारको बैठकमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केबर–बागमती सडकखण्डको प्रगति, निर्माणमा देखिएका अवरोध र सम्बन्धित निकायको भूमिकाबारे विस्तृत छलफल भएको थियो । समितिले सडक आयोजनाका छुट्टाछुट्टै समीक्षा बैठक राखिरहेको छ ।
बैठकले कमला–ढल्केबर–बागमती खण्डमा रहेका विद्युत् पोल दुई महिनाभित्र स्थानान्तरण गर्न र नागढुङ्गा–मुग्लिन सडकखण्डका पोल एक महिनाभित्र सार्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पोल सार्न आवश्यक साइट उपलब्ध गराउन सडक विभागलाई पनि भनिएको छ ।
त्यसैगरी बुटवल–गोरुसिङ्गे सडकखण्डका विद्युत् पोलसमेत दुई महिनाभित्र सार्न निर्देशन दिइएको छ । राजमार्गका विभिन्न खण्डमा रुख समयमै कटान हुन नसक्दा निर्माणमा ढिलाइ भइरहेको विषयलाई गम्भीर लिँदै त्यसको छिटो समाधानका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई पहल गर्न अनुरोध गर्ने निर्णय भएको छ ।
बैठकमा समिति सदस्य राजकिशोर महतो, मिथिला नगरपालिका प्रमुख महेन्द्र महतो, सडक विभागका महानिर्देशक डा. विजय जैसी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, कमला–ढल्केबर–बागमती आयोजना प्रमुख राजेशकुमार दास र नागढुङ्गा–मुग्लिन पश्चिम खण्ड आयोजना प्रमुख सजना अधिकारीलगायत सम्बन्धित निकायका प्रतिनिधि उपस्थित थिए । आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्ने वातावरण बनाउन अन्तरनिकायगत समन्वयका समस्या समाधान गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।
