अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका अधिकांश सैन्य संरचना आफूहरूले ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक वा दुई ठाउँमा हमला गर्न बाँकी रहेको बताएका छन्। तीमध्ये ‘पिकएक्स माउन्टेन’ भनिने शङ्कास्पद आणविक स्थल पनि पर्ने उनको भनाइ छ।
फ्लोरिडास्थित आफ्नो निवासमा शनिबार पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानको आणविक क्षमता आफूहरूले समाप्त पारिसकेको दाबी गरे। ‘अझै एक वा दुई स्थललाई निशाना बनाउन बाँकी छ, तर हामी त्यो काम १० मिनेटमै गर्न सक्छौँ,’ उनले भने।
पिकएक्स माउन्टेन भूमिगत आणविक परिसर भएको आशङ्का गरिन्छ। तर इरानी सरकारले त्यहाँ कुनै पनि किसिमको आणविक गतिविधि नरहेको दाबी गर्दै आएको छ।
फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले सुरु गरेको युद्ध अन्त्य गर्न इरानसँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको ट्रम्पले बताए। यद्यपि उनले इरानलाई पूर्ण रूपमा विश्वास गर्न नसकिने टिप्पणी पनि गरे। अमेरिका तत्काल थप सैन्य कारबाही गर्न हतारमा नरहेको उनले दोहोर्याए।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार राष्ट्रपति ट्रम्पले इरानमाथि थप हमला गर्नेबारे कुनै निर्णय नगरेको बताए। अमेरिकाले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न चाहेको उनले स्पष्ट पारे।
अमेरिकामा मध्यावधि निर्वाचनपछि इरानमाथि फेरि हमला हुन सक्ने ट्रम्पका चेतावनीबीच इरानका सर्वोच्च नेताले शनिबार अमेरिका र इजरायललाई नयाँ युद्ध नथाल्न चेतावनी दिएका छन्। ट्रम्पले यसअघि इरानलाई पूर्ण रूपमा पराजित गर्ने वा नगर्ने विषयमा विचार गरिरहेको बताएका थिए।
