सर्वोच्च अदालतका विवादित न्यायाधीशहरूलाई महाभियोग लगाउन सक्ने गरी निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र बाँकी प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा अलमल देखिएको छ ।
बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायमूर्तिहरूकै नेक्सस देखिएको प्रमाण सार्वजनिक भएपछि शनिबार बसेको रास्वपाको सचिवालय बैठकले प्रधान न्यायाधीश डा. मनोज शर्मा बाहेक हरि फुयाल लगायत न्यायाधीशहरूका सम्बन्धमा संसदबाटै निष्कर्षमा पुर्याउन संसदीय दललाई निर्देशन दिएको थियो ।
सचिवालय बैठकले निर्णय गरेको दुई दिनसम्म संसदीय दलको बैठक बस्ने सुरसार देखिएको छैन । सचेतक क्रान्तिशिखा धितालले संसदीय दलको बैठक बस्ने सम्बन्धमा कुनै सूचना नआएको जानकारी दिइन् । उनले सायद आज वा भोलितिर बैठक बस्न सक्ने बताइन् ।
दलका उपनेता गणेश पराजुलीले पार्टीको निर्देशन अनुसार दलका नेताले बैठक बोलाउने विश्वास व्यक्त गरे । उनले संवैधानिक व्यवस्था अनुसार नै प्रक्रिया अगाडि बढ्ने बताए । रास्वपा संसदीय दलका नेता प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह छन् । शाहले संसदीय दलको बैठक बोलाउन मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीलाई निर्देशन दिएका छैनन् ।
शाहले सरकारको काम–कारबाही बाहेक पार्टी वा संसदीय दलको बैठक बोलाउन कुनै चासो दिएका छैनन् । उनी पार्टीको आन्तरिक बैठकमा अहिलेसम्म सहभागी भएका छैनन् भने संसदीय दलको बैठकमा पनि प्रायःजसो अनुपस्थित रहँदै आएका छन् ।
महाभियोग अनुमोदनका लागि दुई तिहाइ अर्थात् कम्तीमा १८३ मत चाहिन्छ । रास्वपासँग अहिले १८१ सिट छ । स्वतन्त्र सांसद एवं सरकारका शिक्षामन्त्री डा. महावीर पुनले महाभियोगको पक्षमा मत दिएको खण्डमा पनि अझै एक सिट अपुग रहन्छ । त्यसका लागि विपक्षी कुनै एक दलले समर्थन गर्नुपर्ने हुन्छ । अहिले संसद् अधिवेशन नभएकाले संसद् बैठक बोलाउन सभामुखले पहल गर्नुपर्ने देखिन्छ । तिहार नजिकिएकाले तत्काल संसद बैठक बस्ने अवस्था देखिँदैन ।
यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान सिंहदरबारमा बसेको छ । बैठकले यस प्रकरणको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गर्ने निर्णय गरेको छ ।
