प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् बैठक १७ दिनदेखि बस्न सकेको छैन । सामान्यतया सातामा एकदेखि दुई पटक बस्दै आएको बैठक लामो समयदेखि नबसेको हो ।
प्रधानमन्त्री शाहले यसअघि साताको प्रत्येक सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक राख्दै आएका थिए । तर, दसैँअघि असोज ३० गते बसेको बैठकयता नयाँ बैठक आह्वान गरिएको छैन । दसैँअघिको अन्तिम बैठकपछि झण्डै अढाई हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद्को बैठक बस्ने कुनै तयारी देखिएको छैन ।
यस वर्ष असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म दसैँ बिदा रहेकाले नियमित बैठक प्रभावित भएको थियो । तर, दसैँ बिदा सकिएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन ।
मन्त्रिपरिषद् बैठक सरकारका महत्वपूर्ण निर्णयहरू लिने मुख्य थलो हो । नियमित बैठक नबस्दा सरकारी कामकाज र नीतिगत निर्णयहरू प्रभावित हुने चिन्ता बढेको छ । सरकारका दैनिक कामकाज चलिरहे पनि मन्त्रिपरिषद्बाट लिनुपर्ने निर्णयहरू भने थाती रहेका छन् ।
अब कात्तिक २१ गतेदेखि तिहार बिदा सुरु हुँदैछ । त्यसअघि पनि मन्त्रिपरिषद् बैठक बस्नेबारे कुनै जानकारी सार्वजनिक भएको छैन । तिहार बिदापछि मात्र बैठक बस्ने सम्भावना देखिएको छ ।
