टेस्ला कम्पनीका प्रमुख तथा विश्वकै धनी अर्बपति एलोन मस्कले लामो समयदेखि चर्चामा रहेको उड्न सक्ने कार सार्वजनिक गरेका छन् । मस्कले सामाजिक सञ्जालमार्फत यस्तो कारको पहिलो भिडियो सार्वजनिक गरेका हुन् ।
बिहीबार राति एक्स (साविकको ट्विटर)मार्फत सार्वजनिक गरिएको भिडियोमा टेस्ला रोडस्टर नामक कार हावामा उडेको र सुरक्षित रूपमा जमिनमा अवतरण गरेको देखिन्छ ।
मस्कले साझा गरेको भिडियो क्लिपमा उक्त कार अन्तरिक्ष यानमा प्रयोग हुने किसिमको थ्रस्टरको सहयोगले हावामा विभिन्न करतब देखाउँदै उडेको देख्न सकिन्छ । मस्कले सार्वजनिक गरेको अर्को छुट्टै भिडियोमा उक्त कारले अन्य पाँचवटा टेस्ला गाडीहरूको माथिबाट उडान भर्यो र हावामा पूर्ण रूपमा एक फन्को मारेर सहज रूपमा जमिनमा अवतरण गर्यो ।
भिडियो सार्वजनिक गर्दै मस्कले भविष्यमा उड्ने कारहरू पनि यथार्थ हुने प्रतिक्रिया दिएका छन् । अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार रोडस्टरका लागि अहिले टेस्लाको वेबसाइटमार्फत पाँच हजार अमेरिकी डलर अग्रिम भुक्तानी गरी बुकिङ खुला गरिएको छ ।
