अमेरिका र इरानबीचको पछिल्लो युद्धका कारण इराकले झन्डै ६० अर्ब अमेरिकी डलरको आर्थिक क्षति बेहोरेको इराकका विदेशमन्त्री फुआद हुसेनले सार्वजनिक गरेका छन्। रोममा इटालीका विदेशमन्त्री एन्टोनियो तायानीसँगको भेटमा उनले द्वन्द्वले इराकको अर्थतन्त्रमा गम्भीर असर पारेको जानकारी दिएका हुन्।
इरानले विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण होर्मुज जलमार्ग अवरुद्ध गरेपछि इराकको तेल उत्पादन र निर्यातमा ठूलो धक्का लागेको थियो। युद्धअघि इराकले दैनिक करिब ४० लाख ब्यारेल तेल उत्पादन गर्दै आएको थियो, जसमध्ये ३५ लाख ब्यारेल निर्यात हुने गर्थ्यो। इराकको अधिकांश तेल दक्षिणी क्षेत्रबाट होर्मुज जलडमरूमध्य हुँदै बाहिरिन्छ। भण्डारण क्षमता सीमित भएकाले उत्पादन घटाउनु परेको थियो भने सिरिया तथा टर्कीए हुँदै ट्रक र पाइपलाइनबाट सीमित मात्रामा निर्यात गर्नुपरेको थियो।
विदेशमन्त्री हुसेनले जारी द्वन्द्वले विश्वव्यापी ऊर्जा संकट थप गहिरो बनाएको र मुद्रास्फीतिप्रति चिन्ता बढेको चेतावनी पनि दिए। युरोपसहित विश्वका धेरै अर्थतन्त्रमा यसको नकारात्मक असर परेको उनले बताए।
इराकको कुल सरकारी राजस्वको झन्डै ९० प्रतिशत तेल निर्यातबाट प्राप्त हुन्छ। तेल मन्त्रालयका अनुसार सेप्टेम्बर १ देखि २१ सम्म दैनिक २६ लाख ब्यारेल तेल निर्यात भएको छ, जसले उत्पादनमा केही सुधार देखिएको संकेत गर्छ। तर यसै अवधिमा इराकको विदेशी मुद्रा सञ्चिति २० अर्ब डलरले घटेको र उपभोक्ता मूल्य तीव्र गतिमा बढेको छ। आर्थिक दबाब नियन्त्रण गर्न इराकको केन्द्रीय बैंकले तीन वर्षभन्दा लामो समयपछि पहिलोपटक अमेरिकी डलरको तुलनामा इराकी दिनारको अवमूल्यन गरेको छ।
इराकले तेल बिक्रीबाट आउने विदेशी मुद्रामै आयात, मुद्रा स्थिरता तथा सरकारी कर्मचारी र अवकाशप्राप्तहरूको तलब व्यवस्था गर्दै आएको छ। दीर्घकालमा तेलमाथिको निर्भरता घटाउन इराकले सन् २०३७ सम्ममा गैरतेल राजस्वको हिस्सा १० प्रतिशतबाट बढाएर ४५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।
