नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट औपचारिक टी–२० मान्यता प्राप्त गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्तिमार्फत यो जानकारी सार्वजनिक गरेको हो। मान्यतासँगै एनपीएलमा सहभागी फ्रेन्चाइज टिमहरूले अब विदेशी खेलाडी स्वतन्त्र रूपमा अनुबन्ध गर्न पाउनेछन्। यसअघि आईसीसीले एनपीएलको एउटा संस्करणमा टेस्ट राष्ट्रका अधिकतम ४ खेलाडी मात्र भित्र्याउन सकिने अनुमति दिएको थियो। नयाँ व्यवस्थापछि विदेशी खेलाडीको संख्यामा कुनै सीमा लाग्ने छैन। मान्यताले लिगको हैसियत थप उचाइमा पुर्याउने विश्वास क्यानले व्यक्त गरेको छ। प्रतियोगिताले अन्तर्राष्ट्रिय रूपमा आधिकारिक मान्यता पाएपछि विदेशी खेलाडी, प्रायोजक र प्रशंसकको चासो थप बढ्ने अपेक्षा गरिएको छ। क्यानका अनुसार तेस्रो संस्करणमा विश्वका चर्चित क्रिकेट खेलाडीहरूले नेपालमा खेल्ने बाटो खुल्नेछ। यसले नेपाली युवा खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीसँग सिक्ने र खेल्ने अवसर दिलाउने आशा गरिएको छ।
एनपीएललाई आईसीसीबाट आधिकारिक मान्यता, विदेशी खेलाडी भित्र्याउने सीमा हट्यो
