शुक्र अस्त भएको बहानामा यस वर्षको दशैं मनाउन हुँदैन भन्ने प्रचार शास्त्रसम्मत नभएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अध्यक्ष सह–प्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार शारदीय नवरात्र प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म हो, त्यसैले शुक्र वा वृहस्पति अस्त भएको आधारमा चाडपर्व रोकिनुपर्ने कुनै कारण छैन। समितिले शुक्र र वृहस्पति अस्त हुँदा नित्य र नैमित्तिक कर्ममा शास्त्रीय रूपमा कुनै प्रतिबन्ध नरहेको स्पष्ट पारेको छ। कुनै कामना राखेर गरिने काम्य कर्म मात्र अस्तका बेला गर्न नहुने शास्त्रीय वचन रहेको समितिले जनाएको छ। सामाजिक सञ्जालमा फैलिएका हल्लामा विश्वास नगर्न र यस्ता विषयमा जानकार धर्मशास्त्रविद् तथा समितिका पदाधिकारीसँग परामर्श गर्न समितिले सबैमा अनुरोध गरेको छ। समितिले स्वीकृत गरेको पात्रोअनुसार असोज २८ गते बुधबार दिउँसो १३ः४० मा पश्चिममा अस्त भएको शुक्र कात्तिक ११ गते बुधबार मध्यराति १२ः४९ मा उदय हुने उल्लेख छ। दशैंका विधि–विधानमा कुनै परिवर्तन नभएको पनि समितिले स्पष्ट पारेको छ।
शुक्र अस्त भएकै कारण दशैं रोकिँदैन : पञ्चाङ्ग समितिको स्पष्टीकरण
