ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्ने सहमति कार्यान्वयन नभएको भन्दै युक्रेनले रुसको एक तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ। मस्कोबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको रियाजान क्षेत्रको उक्त केन्द्रमा बिहीबार भएको आक्रमणपछि आगलागी भएको रुसी रक्षा मन्त्रालय र क्षेत्रका गभर्नर पाभेल माल्कोभले पुष्टि गरेका छन्। रुसी अनलाइन माध्यम एस्ट्राले आगलागीका तस्बिर सार्वजनिक गरेको छ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो नीतिप्रति असन्तुष्टि जनाउँदै आफूलाई विश्वासमा चोट पुगेको महसुस भएको बताएका छन्। ट्रम्पले आइतबार रुस र युक्रेन दुवैलाई ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्न आग्रह गरेका थिए। जेलेन्स्कीका अनुसार किभले संयम अपनाए पनि मस्कोले आक्रमण जारी राखेकाले युक्रेनले जवाफी कारबाही पुनः सुरु गर्नुपरेको हो।जेलेन्स्कीले पछिल्ला दिनमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्रसम्बन्धी नियमित पश्चिमी गुप्तचर सूचना प्राप्त गर्न नसकेको र अमेरिकी स्टारलिङ्क सञ्चार प्रणालीको प्रयोगमा समेत प्रतिबन्ध लगाइएको दाबी गरेका छन्। यी दुवै सुविधा युक्रेनी सेनाका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छन्। उनले ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेको रुसी डिजेल आयातसम्बन्धी सहमतिप्रति पनि आपत्ति जनाएका छन्।रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले आक्रमणलाई ट्रम्पप्रतिको प्रत्यक्ष चुनौतीका रूपमा व्याख्या गरेका छन्। यद्यपि, दुवै पक्षका दाबी स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको जनाइएको छ। सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास हुँदै आए पनि ठोस प्रगति भएको छैन।
रुसको तेल केन्द्रमा युक्रेनको ड्रोन आक्रमण, किभ–वासिङ्टन सम्बन्ध चिसिँदै
