सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा वरिष्ठ कृषि वैज्ञानिक डा. भीमबहादुर खत्रीलाई नियुक्त गरेका छन् । असोज २३ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डा. खत्रीलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो ।
यो नियुक्तिसँगै गत साउनदेखि नेतृत्वविहीन रहेको योजना आयोगले प्रमुख पाएको छ । कार्यभार सम्हाल्नासाथ कर्णालीको विकास सूचकाङ्क तयार गर्ने, भरपर्दो तथ्यांकको आधार जुटाउने र योजनाहरू निर्माण गर्ने जिम्मेवारी अब डा. खत्रीको काँधमा आएको छ । प्रदेश सरकारले आयोगका अन्य सदस्यहरू भने अहिलेसम्म नियुक्त गरेको छैन ।
जुम्लाको तातोपानी गाउँपालिका–४ मा जन्मिएका डा. खत्री नेपालका प्रतिष्ठित कृषि वैज्ञानिक हुन् । उनले अस्ट्रेलियाको तस्मानिया विश्वविद्यालयबाट कृषिमा विद्यावारिधि हासिल गरेका छन् । सन् १९९५ देखि २०१६ सम्म राष्ट्रिय आलु अनुसन्धान कार्यक्रममा वरिष्ठ वैज्ञानिकका रूपमा करिब २१ वर्ष उनले आलुका जात सुधार, मूल बीउ उत्पादन र टिटिपिएस प्रविधिको प्रवर्द्धनमा योगदान पुर्याए ।
बागवानीका प्राध्यापकका रूपमा त्रिभुवन विश्वविद्यालयमा पढाउँदै आएका डा. खत्री शोधार्थीका प्राज्ञिक निर्देशकका रूपमा पनि सक्रिय छन् । उनी २०७५ मा प्रदेश स्थापना हुँदै आयोगको पहिलो उपाध्यक्षका लागि सबैभन्दा बलियो दाबेदार थिए, तर त्यतिबेला पुण्यप्रसाद रेग्मी नियुक्त भएका थिए । बिचैमा काम गर्न नपाएको भन्दै रेग्मीले राजीनामा दिएका थिए ।
