काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को नयाँ सिजनलाई निष्पक्ष र व्यवस्थित बनाउन नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय मापदण्ड कडाइका साथ लागू गर्ने भएको छ। आगामी मंसिर १५ देखि सुरु हुने प्रतियोगितालाई भव्य रूपमा सञ्चालन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का नियमहरू पूर्ण रूपमा पालना गरिने क्यानका सचिव पारस खड्काले बताए।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सचिव खड्काले प्रतियोगिताका प्राविधिक तयारी, विदेशी खेलाडीसम्बन्धी प्रावधान र एन्टी करप्सन नीतिबारे जानकारी दिए। उनका अनुसार एनपिएल सुरु हुनुभन्दा ठिक ६ महिना अगाडिसम्म अस्वीकृत क्रिकेटमा सहभागी भएका खेलाडीलाई एनपिएल खेल्न दिइने छैन। साथै, एनपिएलमा आउने सबै विदेशी खेलाडीले सम्बन्धित देशको क्रिकेट बोर्डबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिनैपर्ने व्यवस्था गरिएको छ। सन्यास लिइसकेका खेलाडीले पनि एनओसी लिनैपर्ने प्रावधान गरिएको उनले प्रस्ट्याए।
प्रतियोगिताको निष्पक्षता जोगाउन एन्टी करप्सन नीतिलाई विशेष प्राथमिकता दिइएको छ। एनपिएल अवधिभर आइसीसीको एन्टी करप्सन युनिटका प्रोटोकल र नेपालको विद्यमान कानुनअनुसार निगरानी गरिनेछ। आचारसंहिता उल्लंघन वा फिक्सिङजन्य गतिविधिमा संलग्न हुने खेलाडी वा सरोकारवालालाई आइसीसीको नियमअनुसार कारबाही हुनेछ। खेलाडी, टिम मालिक र सञ्चारकर्मीका लागि मैदान प्रवेश तथा खेलपछिको पत्रकार सम्मेलनसम्बन्धी निर्देशिका पनि जारी गरिनेछ।
विदेशी खेलाडीको संख्याबारे प्रस्ट्याउँदै खड्काले प्रत्येक टोलीले स्क्वाडमा अधिकतम आठ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न सक्ने जानकारी दिए। प्लेइङ ११ मा चार जना विदेशी र सात जना नेपाली खेलाडी अनिवार्य हुनुपर्नेछ। एसोसिएट राष्ट्रका खेलाडी अनिवार्य राख्ने विषय भने टोलीकै निर्णयमा छोडिएको छ।
डिसिजन रिभ्यु सिस्टम प्रयोग गर्ने विषयमा तयारी भइरहेको छ र दुई–तीन दिनभित्र यसबारे औपचारिक निर्णय सार्वजनिक गरिनेछ। प्रतियोगिताको आइसीसी स्वीकृति प्राप्त भइसकेको छ भने आधिकारिक टी-२० मान्यताको औपचारिक टुंगो सोमबारसम्म लाग्ने सचिव खड्काको भनाइ छ।
यसैबीच, एनपिएलकै दौरान क्यानले काठमाडौँमा ‘आइसीसी एसिया कन्फ्रेन्स’ समेत आयोजना गर्ने भएको छ। नोभेम्बर १९ देखि २१ सम्म चल्ने तीन दिने सम्मेलनमा एसियाका टेस्ट तथा एसोसिएट राष्ट्रका अध्यक्ष, सचिव र प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहनेछ। उनीहरूले एनपिएलको फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्नेछन्। लिग र कमेन्ट्री प्यानलमा पूर्वअन्तर्राष्ट्रिय क्रिकेट हस्तीलाई जोड्ने प्रयास भइरहेको र छिट्टै यसको घोषणा गरिने खड्काले जानकारी दिए।
