नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसले अघि सारेको बहुदलीय लोकतान्त्रिक विचार नेपालको राजनीतिमा सर्वस्वीकार्य भइसकेको दाबी गरेका छन्। पोखरामा नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता र संसद्को सङ्ख्या अस्थायी हुने तर विचारको जित स्थायी हुने बताए।
सत्तारुढ दल रास्वपातर्फ सङ्केत गर्दै पौडेलले नयाँ दलहरूले प्रचार र कुरा धेरै गरे पनि काम गरेर देखाउन नसकेको टिप्पणी गरे। नयाँ साथीहरूले अनेकौँ कुरा गरे तर केही पनि काम गरेनन् भन्ने उनको भनाइ थियो। कांग्रेसले नेपाली समाजमा बहुदलीय लोकतान्त्रिक व्यवस्थाबारे बहस सुरु गराएको र आज त्यो विचार नमान्नेहरू सबै यही बाटोमा फर्किनुपरेको उनले बताए।
हिजो लोकतान्त्रिक विधिलाई अस्वीकार गर्ने कम्युनिस्ट र राजावादीदेखि अहिलेका नयाँ दलहरूसम्म कांग्रेसकै नीति र पद्धतिमा आउन बाध्य भएको दाबी उनले गरे। कम्युनिस्ट विचारले यो विधिलाई मान्दैनथ्यो, राजावादीहरूले पनि मान्दैनथे, तर अहिले नयाँ दलहरू पनि यही व्यवस्थाबाटै सत्तामा पुगेको उनले बताए।
सत्ता समीकरण र संसद्को गणितभन्दा विचारको प्रभाव ठुलो हुने महामन्त्री पौडेलले बताए। राजनीतिमा को पदमा पुग्छ र संसदमा कसको सङ्ख्या बढी हुन्छ भन्ने स्थायी कुरा होइन, कसको विचारलाई समाज र देशले मानेको छ भन्ने महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
कांग्रेसले अब इतिहासको गौरव गरेर मात्र वर्तमान र भविष्य नबन्ने पौडेलले बताए। बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको मूल मर्मलाई समातेर त्यसको विषयवस्तुलाई समयसापेक्ष बनाउनुपर्नेमा उनको जोड थियो। भर्खरै महाधिवेशन सकेर जिल्ला दौडाहामा निस्केका उनले पार्टीको आन्तरिक चुनावमा पराजित भएकाहरूलाई पनि सँगै लिएर अघि बढ्नुपर्ने बताए। जित्नेले हार्नेलाई आफ्नो पूरै कार्यकालभरि सँगै लिएर हिँड्न सक्नुपर्ने र हार्नेले पनि प्राविधिक परिणाम स्वीकार गरेर सङ्गठन निर्माणमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
