काठमाडौँ । नेपाली कांग्रेसले पार्टी नेतृत्वका विषयमा उठेका प्रश्नको जवाफ दिन आफू तयार रहेको बताएको छ ।
वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेतृत्वमाथि उठाइएका विषयबारे पार्टीले कुनै पनि प्रश्नको सामना गर्ने बताए । उनले छानबिन निष्पक्ष, विधिसम्मत र विश्वसनीय हुनुपर्ने माग गरे ।
शर्माले प्रहरी हिरासतमा रहेका एक व्यक्तिको बयानको अडियो सार्वजनिक भएको घटनाप्रति कडा आपत्ति जनाए । बिचौलियाको भूमिकामा रहेका व्यक्तिले प्रहरी बयानका क्रममा बोलेका कुरा यसरी बाहिर ल्याउनु उचित नभएको उनको भनाइ थियो । यस विषयमा सरकारको नियतमाथि प्रश्न उठाउँदै उनले अनुसन्धानको गोपनीयता कायम राख्नुपर्ने बताए ।
सरकार र सत्तारूढ दलबीच तालमेल नरहेको आरोप लगाउँदै शर्माले नियोजित रूपमा सामग्री बाहिर ल्याएर भ्रम फैलाउन खोजिएको बताए । सरकारले पार्टीको निर्देशन भएको बताउने र पार्टीले निर्देशन नदिएको भन्ने अवस्थाले दुवैबीच मतैक्यता नदेखिएको उनको टिप्पणी थियो ।
किस्ता–किस्तामा सार्वजनिक गरिएका दाबी के हुन् भन्ने कुरा सरकारले स्पष्ट पार्नुपर्ने उनले बताए । बाहिर ल्याइएका धारणा अनुसन्धानबाटै प्रमाणित हुनुपर्ने र तथ्यहीन विषय प्रचार गरेर राज्य संयन्त्रको दुरुपयोग गर्न नहुने उनको चेतावनी थियो ।
