स्याङ्जा । कुनै बेला कोदो र अन्य अन्नबाली लगाइन्थ्यो, त्यही बारीमा अहिले सयपत्री फूल फुल्न थालेपछि स्याङ्जाका किसानको आम्दानी बढेको छ । बाँदरले अन्नबालीमा जस्तो क्षति नपुर्याउने र बजारमा माग राम्रो भएकाले किसान फूलखेतीतर्फ आकर्षित भएका हुन् । तिहारलाई लक्षित गरी सुरु भएको व्यावसायिक फूलखेतीबाट किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।
कालीगण्डकी र अर्जुनचौपारी गाउँपालिका तथा गल्याङ, चापाकोट र वालिङ नगरपालिकामा व्यावसायिक सयपत्री खेती भइरहेको छ । कालीगण्डकी गाउँपालिका–७ बारीचौरका ७१ वर्षीय धनबहादुर थापाले पाँच वर्षदेखि चार रोपनी जग्गामा कर्मा–५५५ जातको सयपत्री लगाउँदै आएका छन् । यस आर्थिक वर्षमा साढे चार क्विन्टल फूल उत्पादन भएको उनले बताए । गत आर्थिक वर्षमा उनले ६ क्विन्टल फूल उत्पादन गरेर प्रतिकिलो २५० देखि ४०० रुपैयाँसम्ममा बिक्री गरी एक वर्षमा करिब तीन लाख रुपैयाँ आम्दानी गरेका थिए ।
कालीगण्डकी गाउँपालिका–२ लसर्गाकी पुष्पा सिंह रानाले चार वर्षदेखि दुई रोपनीमा फूलखेती गर्दै आएकी छन् भने बासटारीका रविलाल गौडेलले साढे दुई रोपनीबाट दुई लाख रुपैयाँ आम्दानी गरेका छन् ।
कालीगण्डकी गाउँपालिकाले सुरुमा आफैं फूलखेती गरेर किसानलाई यसतर्फ आकर्षित गरेको थियो । फूल उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई दुई वर्षसम्म प्रतिरोपनी नौ हजार रुपैयाँ अनुदान र बीउ दिइएको सूचना अधिकारी टीकाकुमारी क्षेत्रीले बताइन् । गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलका अनुसार चालु आर्थिक वर्षमा यहाँका किसानले १५ लाख रुपैयाँभन्दा बढी मूल्यको फूल बिक्री गर्ने अनुमान छ । सात वडा रहेको गाउँपालिकामा वडा नम्बर ४ बाहेक अन्य वडाका १५ किसानले करिब ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका छन् ।
जिल्लामा फूलको व्यावसायिक उत्पादन बढ्दै गएपछि बाहिरी जिल्लाबाट फूल र माला आयात गर्ने क्रमसमेत घट्न थालेको छ ।
