काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ मा नेपालको सहभागितालाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयारी अघि बढाएको छ । सम्मेलनमा सत्तारुढ दलसँगै प्रतिनिधिसभामा रहेका अन्य दलका प्रतिनिधिलाई पनि सहभागी गराउने योजना छ ।
यस विषयमा छलफल गर्न प्रधानमन्त्री कार्यालयमा शुक्रबार ती दलका प्रमुख सचेतक तथा प्रतिनिधिहरूसँग बैठक बसेको थियो । बैठकमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह सहभागी थिए ।
आगामी नोभेम्बर ९ देखि २० सम्म टर्किएमा हुने कोप–३१ मा नेपालले उठाउनुपर्ने प्राथमिकता र राष्ट्रिय हितका विषयमा बैठकमा छलफल भएको थियो । जलवायु परिवर्तनका सवालमा साझा धारणा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिलाई बलियो बनाउने उद्देश्य बैठकको रहेको थियो ।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले हिमाली क्षेत्रको संरक्षण, जलवायुजन्य विपद्, जलवायु न्याय, ऊर्जा र जलवायु वित्तजस्ता विषयलाई विश्व समुदायसामु सशक्त रूपमा उठाउनुपर्नेमा सरकारको जोड छ । सम्मेलनमा नेपालको सहभागितालाई अर्थपूर्ण बनाउन दलहरूबीच साझा धारणा निर्माण गर्नु आवश्यक रहेको बैठकमा जोड दिइएको थियो ।
