नेपाली चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा फेरि एकपटक आफ्नो उपस्थिति दह्रिलो बनाएको छ। अस्ट्रेलियाको गोल्ड कोस्टमा शुक्रबार सम्पन्न १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) ले उत्कृष्ट अभिनय विधाको अवार्ड हात पारेको छ। चलचित्रकी मुख्य अभिनेत्री पुष्पा थिङ लामाले यो सम्मान जितेकी हुन्।
एसिया प्रशान्त क्षेत्रका उत्कृष्ट चलचित्र र कलाकारलाई सम्मान गरिने यस प्रतिष्ठित अवार्डमा नेपाली अभिनेत्रीको जितले नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाएको छ। यो चलचित्र तीन विधामा मनोनयनमा परेको थियो। उत्कृष्ट फिल्म विधामा चलचित्र आफैँ, उत्कृष्ट निर्देशक विधामा निर्देशक अविनाशविक्रम शाह र उत्कृष्ट अभिनय विधामा अभिनेत्री पुष्पा थिङ लामा मनोनयनमा परेका थिए।
चलचित्रको टोलीले अवार्ड समारोहमा सहभागी हुन अस्ट्रेलिया जाने योजना बनाएको थियो। तर अन्तिम समयमा योजना रद्द गर्नुपरेकाले टोली समारोहमा प्रत्यक्ष उपस्थित हुन सकेन।
सम्मान पाएपछि अभिनेत्री पुष्पा थिङ लामाले एसिया प्यासिफिक स्क्रिन अवार्डप्रति आभार प्रकट गरेकी छन्। उनले यो सम्मान आफ्ना लागि विशेष रहेको बताउँदै निर्देशक अविनाशविक्रम शाह र निर्माता अनुप पौडेललाई धन्यवाद दिएकी छन्। ‘पिरती’ पात्रलाई जीवन्त बनाउने अवसर दिएकोमा उनले निर्देशक र निर्माताप्रति कृतज्ञता व्यक्त गरेकी छन्। उनले यो सम्मान आफ्नो अभिनय यात्राको सुन्दर उपलब्धि भएको र यसलाई सधैँ विशेष सम्झनाका रूपमा सँगालेर राख्ने बताएकी छन्।
नेपाली समाज, संस्कृति र सीमान्तकृत समुदायको कथा समेटिएको यो चलचित्र यसअघि सन् २०२६ को कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको थियो। उक्त विधामा चलचित्रले जुरी पुरस्कारसमेत प्राप्त गरेको थियो। कान्सपछि अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चर्चा बटुलिरहेको यस चलचित्रका लागि अस्ट्रेलियामा प्राप्त अवार्डलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय यात्राको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
