बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालनमा आउने बताएकी छन्। विमानस्थल सञ्चालनका लागि सरकारले आन्तरिक तयारी र कूटनीतिक पहल गरिरहेको उनको दाबी छ।
शनिबार चेम्बर अफ कमर्स, रुपन्देहीले भैरहवामा आयोजना गरेको निजी क्षेत्र तथा पर्यटन व्यवसायीसँगको छलफलमा सांसद अग्रवालले विमानस्थल सञ्चालनका विषयमा सरकार सकारात्मक ढंगले अघि बढिरहेको बताइन्।
सरकारले आवश्यक आन्तरिक तयारी गरिरहेको र आफूले संसद्, मन्त्रालय तथा विभिन्न कूटनीतिक नियोगमार्फत पहल गरिरहेको उनले बताइन्।
विगतका कमजोरीमा अल्झिनुभन्दा विमानस्थल सञ्चालनका लागि अब सबै पक्षले साझा पहल गर्नुपर्नेमा उनले जोड दिइन्। निजी क्षेत्र एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै उनले विमानस्थल सञ्चालन नहुँदा व्यवसायीले भोग्नुपरेका आर्थिक समस्याबारे आफू जानकार रहेको बताइन्।
विमानस्थल सञ्चालनमा आए समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणबाट विमानस्थल सञ्चालनका विषयमा सकारात्मक खबर आउने विश्वाससमेत उनले व्यक्त गरिन्। आफूले संसद्मा पाँच पटकसम्म विमानस्थल सञ्चालनको विषय उठाइसकेको पनि उनले बताइन्।
